ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्ट उत्पादन प्रक्रिया

May 17, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
खैरो रङको नरम धूलोको रूपमा चिनिने सिमेन्ट चुनढुंगा, बालुवा, पत्रे चट्टान र माटोबाट बन्छ । यही धूलोलाई पानीको अनुपात मिलाएर मिश्रण गरी निर्माणमा प्रयोग गरिन्छ । सिमेन्ट बनाउन उल्लिखित सामग्रीसहित यस्ता तत्त्व सम्मिश्रण गरिएको हुन्छ : १. क्याल्सियम, २. सिलिकन, ३. एल्मुनियम, ४. आइरन क्याल्सियम सिमेन्ट उत्पादनका लागि महत्त्वपूर्ण तत्त्वमध्ये पर्छ । चुनढुंगाबाट क्याल्सियमको आवश्यकता पूर्ति गरिन्छ । यस्तै सिलिकन बालुवा र माटोबाट प्राप्त गरिन्छ भने एल्मुनियम र आइरन बक्साइटबाट पाउन सकिन्छ । प्रायः सिमेन्ट खरानी रङको हुने गर्दछ । सेतो रङको सिमेन्ट पनि हुन्छ । तर यसको मूल्य केही बढी हुने गरेको छ । विभिन्न प्रयोजनका लागि भन्दै अहिले विभिन्न कलरका सिमेन्टको उत्पादन र उपयोग पनि बढेको छ । तर यस्ता रङका सिमेन्ट साधारण टालटुल र शोपिसमा मात्र प्रयोग हुने गरेको छ । सिमेन्टमा पानी, बालुवा र ग्राभेल मिसाउँदा कंक्रिट बन्छ । पानी र बालुवा मिसाउँदा प्लास्टरका लागि उपयुक्त हुन्छ । चुन, पानी, र बालुवाको घोलबाट मोर्टार बनाइन्छ । बहुप्रयोगमा ल्याउन सकिने सिमेन्ट बजारमा विभिन्न ब्रान्डमा पाइन्छन् । १ केजी सिमेन्टमा ३ सय अर्ब कण हुने सिमेन्ट प्राविधिकको भनाइ छ । सिमेन्टमा पानी छेक्न सक्ने विशिष्ट प्रकारको गुण हुन्छ । तथापि यसको भण्डारण भने सुक्खा स्थानमा गर्नुपर्दछ । चिसो र ओसिलो स्थानमा राख्दा सिमेन्ट कडा भएर एउटै ढिक्कामा परिणत हुन पुग्छ, जसलाई हामी ‘बिग्रिएको’ भन्छौं । यसरी बन्छ सिमेन्ट १. चुनढुंगा, बालुवा र माटो सिमेन्ट बनाउन चाहिने मुख्य कच्चापदार्थ हुन् । २. चुनढुंगालाई प्लान्टमा ल्याएर मार्बल आकारमा काटिन्छ । ३. यसरी काटिएका चुनढुंगा र अन्य कच्चापदार्थको अनुपात मिलाएर ब्लेन्डर (मिश्रण गर्ने उपकरण)मा हालिन्छ । ४. पाउडर वा धूलो बनेको कच्चापदार्थलाई रोलरमा हालिन्छ । ५. त्यसपछि यसलाई ‘सिन्टरिङ’ (कच्चापदार्थ अत्यधिक तापक्रममा पनि नपग्लने) गरिन्छ । यो प्रक्रियामा कच्चापदार्थलाई घुमिरहेको ठूलो तातो भट्टीमा हालिन्छ । यसमा १ हजार ४८० डिग्री सेन्टिग्रेड तापक्रममा कच्चापदार्थ रोलरमा घुमेको हुन्छ । यसमा भौतिक र रासायनिक परिवर्तनपछि कच्चापदार्थ ठूलो, फराकिलो, रातो र तातो खरानीको रूपमा बाहिर निस्कन्छ, जसलाई ‘क्लिंकर’ भनिन्छ । ६. ‘क्लिंकर’ चिसिएर खैरो रङमा परिवर्तन भइसकेको हुन्छ । लगभग तयार भइसकेको पदार्थलाई अन्तिम पटक ‘ग्राइन्डिङ’ गरिन्छ । त्यसपछि ‘पोर्टल्यान्ड’ सिमेन्ट तयार हुन्छ । सिमेन्टको ग्रेड र प्रयोग अवस्था १ ३३ ग्रेड : यो ग्रेडको सिमेन्ट साधारण निर्माण कार्यमा मात्र प्रयोग गरिन्छ । २ ४३ ग्रेड : यो सिमेन्ट निर्माण कार्यका लागि सबैभन्दा बढी प्रयोग हुन्छ । उत्पादनको लगभग आधा हिस्सा ४३ ग्रेडको सिमेन्टले ओगटेको व्यवसायी बताउँछन् । साधारण निर्माण, आरसीसी ढलान, प्लास्टर लगायत कार्यका लागि ४३ ग्रेडको सिमेन्ट प्रयोग हुँदै आएको छ । ३ ५३ ग्रेड : यो उच्च टिकाउ हुने सिमेन्टको स्तरमा पर्छ । बलियो कंक्रिट निर्माणका लागि यसको प्रयोग हुन्छ । आरसीसी विद्युत् स्टेशन, सडक, पुल र रनवे बनाउन यो सिमेन्टको प्रयोग गरिन्छ । क्लिंकर के हो ? सिमेन्ट क्लिंकरमा मुख्य अवयवका रूपमा ‘ट्राइक्याल्सियम सिलिकेट’ र ‘डाइक्याल्सियम सिलिकेट’ तथा सहायक अवयवका रूपमा ‘ट्राइक्याल्सियम एलुमिनेट’ र ‘टेट्राक्याल्सियम एलुमिनोफेराइट’ रहेका हुन्छन् । अक्साइडको रूपमा रहेको क्याल्सियमको स्रोत चुनढुंगा हो । क्लिंकर उत्पादनका लागि कच्चापदार्थको ८० प्रतिशत भन्दा बढी हिस्सा चुनढुंगाले ओगटेको हुन्छ भने सिलिकेट, एलुमिनेट र फेराइटका लागि मुख्य रूपमा माटो, सेल तथा आवश्यक भएमा फलामको धाउ र बक्साइट प्रयोग गरिन्छ । सही मात्रामा सम्मिश्रण गरी तयार गरिएको कच्चापदार्थको धूलोलाई भट्टीभित्र कोइलाको मद्दतले १४०० डिग्री सेल्सियस तापमा पग्लनुअगावै जम्न लागेको अवस्थामा पुर्‍याएपछि क्लिंकर बन्दछ । राम्रो क्लिंकरका लागि कच्चापदार्थको मात्रा सही हुनुपर्छ र अनुकूल रासायनिक प्रक्रियाका लागि कम पाकेको हुनु हुँदैन र डढेको पनि ठीक हुँदैन । कच्चापदार्थमा अशुद्घिका रूपमा रहेका तŒवहरूबाट पनि गुणस्तर प्रभावित हुन सक्छ । चुनढुंगामा म्याग्नेसियम अक्साइड ३ प्रतिशतभन्दा बढी भएमा निर्माणमा प्रयोग गरिएको सिमेन्ट कालान्तरमा चर्किन सक्छ । चुनढुंगा उच्चस्तरको अथवा क्याल्सियम अक्साइड ज्यादा भएमा कच्चापदार्थको सही मात्रा निर्धारण गर्न सजिलो हुन्छ । क्लिकरलाई करीब ४ प्रतिशत जिप्समसँग मिसाएर सिमेन्ट मिलमा पिँधेपछि ओपीसी सिमेन्ट बन्छ । साथै फ्लाईआस र स्लाग मिसाएर पिस्दा क्रमशः पीपीसी र पीएससी सिमेन्ट तयार हुन्छ । जानकारी सिमेन्ट भण्डारण विधि सिमेन्टको भण्डारणले पनि यसकोे गुणस्तरमा प्रभाव पार्छ । यदि भण्डारण गर्दा गलत तरीका अपनाइयो भने प्रयोग गर्नुअगावै डल्लो पर्ने र गुणस्तर खस्किँदै जाने सम्भावना रहन्छ । वर्षायाममा सिमेन्ट भण्डारण गर्दा विशेष सावधानी अपनाउन सकिएन भने बिग्रिएर कामै नलाग्ने हुन सक्छ । त्यसैले सिमेन्ट भण्डारण गर्दा कहिल्यै पनि भित्तामा टाँसिने गरी राख्नुहुँदैन । भुइँमा काठ बिछ्याएर वा टाँड बनाएर मात्र भण्डारण गर्नुपर्छ । भण्डारण गर्ने स्थानको झ्यालढोका सधैं बन्द राख्नुपर्छ भने एउटा चाङमा सामान्यतया १० बोराभन्दा बढी राख्नु राम्रो मानिँदैन । सिमेन्टलाई निर्माणाधीन भवनमै राख्ने हो भने भवन पूर्णरूपले सुकेको हुनुपर्छ । अन्यथा प्रयोग गर्नुअघि नै सिमेन्ट ओसिएर काम नलाग्ने हुन सक्छ । साथै सिमेन्ट झिक्दा माथिको मात्र नभई सबैतिरबाट झिक्दै जानुपर्छ र समयसमयमा तलको माथि र माथिको तल हुनेगरीे उल्ट्याउनुपर्छ । निर्माण सामग्री प्रयोग विधि कुनै पनि भौतिक पूर्वाधार निर्माण गर्दा सिमेन्ट बालुवाको सही अनुपात भएमा मात्र बन्ने संरचना गुणस्तरीय हुन्छ । वाल लगाउँदा इँटाको जोडाइमा सिमेन्ट र बालुवाको भूमिका महत्त्वपूर्ण हुन्छ । सामान्यतया ९ इन्चको पर्खाल लगाउँदा १ः६ र ४ इन्चको पर्खालमा १ः४ को अनुपातमा मसला बनाउने गरिन्छ । यसरी पर्खालको चौडाइअनुसार मसलाको अनुपात मिलाउँदा त्यसको भार वहन क्षमतामा कमी आउ“दैन । पर्खाल लगाउँदा दुई इँटाको बीचमा राम्रोसँग मसला हालिएको हुनुपर्छ भने तलदेखि माथिसम्म सीधा ज्वाइन्ट पर्नेगरी लगाउनु हुँदैन । हरेक इँटालाई माथिपट्टि बुट्टा पर्नेगरी मिलाएर लगाउनुपर्छ । त्यस्तै सबै ज्वाइन्टको ग्याप समान हुनुपर्छ । पर्खाल लगाउने कार्य सकिएको १ हप्तासम्म निरन्तर पानीले भिजाउने गर्नुपर्छ । सिमेन्टका प्रकार ओपीसी अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) शुद्ध सिमेन्ट हो । यसबाट ताप छिटो बाहिर निस्कने हुनाले यसको प्रयोगबाट गरिएको प्लास्टर चर्कने सम्भावना बढी हुन्छ । ओपीसीको प्रयोग बढी तापक्रम भएका स्थानका लागि त्यति उपयुक्त हुँदैन । ओपीसी सिमेन्टमा जिप्सम (आवश्यकता अनुसार) बाहेक अन्य पदार्थ मिसाइँदैन । ओपीसी सिमेन्टले प्रयोग गरेको २८ दिनसम्ममा आवश्यक ‘स्ट्रेन्थ’ प्राप्त गरिसकेको हुन्छ । पीपीसी पोर्टल्यान्ड पोजोल्याना सिमेन्ट (पीपीसी) कम ताप भएको सिमेन्ट हो । पीपीसीलाई प्लेन पोजोलाना सिमेन्ट पनि भनिन्छ । यस्ता सिमेन्ट सेट हुन लामो सयम लाग्ने भएकाले पीपीसी प्रयोग गरिएको ठाउँको ‘फर्मा’ धेरै दिनसम्म निकाल्न मिल्दैन । पीपीसी प्रयोग गरिएको ठाउँमा लामो समयसम्म डिजाइन (बुट्टा) निकाल्न सकिन्छ । पीपीसीमा फलाम, कोइलाको भष्म जस्ता तŒवको प्रयोग गरिने भएकाले यसको तापक्रम नियन्त्रन गर्न सजिलो हुन्छ । पीपीसी सिमेन्टमा जिप्समको अतिरिक्त फ्लाईआस (खरानी)को मिश्रन हुन्छ । पीपीसी सिमेन्टको प्रयोगमा शुरूमा ओपीसी सिमेन्टको जस्तो ‘स्ट्रेन्थ’ आउँदैन । तर पीपीसी सिमेन्टमा भएको अध्ययनअनुसार ‘स्ट्रेन्थ’ विस्तारै बढ्दै जाने र सो क्रम ५ वर्षसम्म लम्बिरहेको पाइएको छ । मिश्रणसहितको पीपीसी सिमेन्ट सस्तो पर्ने हुनाले साधारण कार्यमा बढी प्रयोग हुन्छ । विश्वबजारमा ५५ प्रतिशत पीपीसी सिमेन्ट, ३५ प्रतिशत ओपीसी सिमेन्ट र १० प्रतिशत पीएससी सिमेन्टको उत्पादन भइरहेको मानिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)