एनसीसी बैंक : कम्पनी विश्लेषण ( आइतवार, जेष्ठ ५, २०७६)
May 19, 2019
 
लगानी
कम्पनी विश्लेषण
एनसीसी बैंकले विगत २ आर्थिक वर्षको साधारणसभा गर्न बाँकी छ । तर बैंकले हालसम्म साधारणसभाको तयारी गरेको देखिँदैन । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको कम्पनीले यस अवधिमा रू. १ अर्ब १६ करोड ४० लाख ३० हजार खुद नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा बैंकले रू. ८८ करोड ८० लाख १९ हजार नाफा कमाएको थियो । बैंकको चुुक्तापूँजी रू. ७ अर्ब १ करोड ८५ लाख ८७ हजार छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा रू. ८३ करोड ९९ लाख ४४ हजार छ । बिहीवार भएको शेयर कारोबारमा बैंकको शेयरमूल्य रू. २६० कायम भएको छ । यस दिन कम्पनीको १ लाख ९१ हजार ९७९ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा अन्योलमा रहने संकेत देखाउँछ । बढ्ने र घट्ने अन्योल रहेकाले लगानीकर्तामा पर्ख र हेरको स्थिति सृजना भएको छ । आरएसआई ओभरबट जोन ७६ दशमलव ८१ विन्दुमा छ । यसले शेयर खरीद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशलमव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. २६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. २३२ मा टेवा पाउने देखिन्छ । बैंकको ६४ दिनकै सबैभन्दा बढी शेयरमूल्य रू. २६० पुगेको हो ।