शिवम् सिमेन्ट : कम्पनी विश्लेषण ( आइतवार, जेष्ठ ५, २०७६)
May 19, 2019
 
लगानी
कम्पनी विश्लेषण
गत फागुनमा सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ विक्री गरेको शिवम् सिमेन्टले ३ महीनामै १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले आगामी दिनमा पनि यसलाई नघटाई बोनस तथा नगद लाभांश वितरण गर्ने प्रतिबद्धता वैशाख ९ गते सम्पन्न साधारणसभामा व्यक्त गरेको छ । सर्वसाधारणलाई समेत समेटेपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड कायम भएको छ । आगामी दिनमा आउन सक्ने बजारको मागलाई ध्यानमा राखी पीपीसी, स्लाग सिमेन्ट लगायत अन्य ब्रान्ड र ग्रेडका सिमेन्ट उत्पादन गरी बजारमा ल्याउने योजना कम्पनीको छ । बुधवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा २६ अंक घटेर रू. ५ सय २० मा बन्द भएको छ । बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनभन्दा ५२ अंक बढेर रू. ५ सय ७२ कायम भएको छ । यस दिन कम्पनीको २ लाख ४५ हजार ३३७ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ३८ दिनको कारोबार अवधिमा अन्तिम दिन ह्वाइट क्लोजिङ मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई ओभरबट जोन ७५ दशमलव ५६ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४८ दशलमव २८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. ५७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ५२० मा टेवा पाउने देखिन्छ । हालसम्मकै उच्च मूल्य बिहीवार कायम भएको हो ।