जीवन बीमा कम्पनीहरूले पुर्याउनुपर्ने रू. २ अर्ब चुक्तापूँजी पुर्याएर पनि लगानीकर्तालाई बोनस शेयर प्रदान गरेको यस कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७४ लाख ४० हजार पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७४ को मुनाफाबाट यस वर्ष १३ दशमलव ५ प्रतिशत बोनस शेयर प्रदान गरेको हो । तेस्रो त्रैमासमा कम्पनीले रू. ३० करोड ६० लाख १९ हजार खुद नाफा गरेको छ । गतवर्षको सोही अवधिमा खुद नाफा रू. २२ करोड २० लाख ५२ हजार थियो । यस वर्ष रू. ४ अर्ब ९२ करोड १३ लाख ४१ हजार कुल बीमा शुल्क आर्जन गरेको कम्पनीमा हाल ७ लाख ८ हजार ३६० बीमालेख कायम छ । कम्पनीले राष्ट्रिय सञ्जाललाई अरू प्रभावकारी रूपमा सञ्चालन गरी नयाँ बीमा योजना बजारमा ल्याउने लक्ष्य लिएको छ । आइतवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो कारोबारभन्दा ३ अंक घटेर रू. ६६६ कायम भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी बुलिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले आगामी दिनमा शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५९ दशमलव ३९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशलमव ४२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ६६६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ६७९ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६६१ मा टेवा पाउने देखिन्छ ।