सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ७१ लाख ४८ हजार ८ सय ४२ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड छ । कम्पनीले ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृति पाएको छ । ७० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९२ करोड पुग्नेछ । साथै, कम्पनीले प्रस्तावित १२ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी रू. २ अर्ब ६ करोड पुग्नेछ । आइतवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ५ अंक घटेर रू. ६ सय ३ मा बन्द भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ६१ दशमलव ३९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशलमव ८७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ६ सय ३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ९६ मा टेवा पाउने देखिन्छ ।