जनउत्थान सामुदायिक लघुवित्त : कम्पनी विश्लेषण (मंगलवार, ७ जेठ २०७६)
May 21, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको ९ महीनामा रू. १ करोड ८२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५९ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १ करोड १४ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. २२ लाख ८७ हजार खराब कर्जा उठाउनुका साथै खुद ब्याज आम्दानीमा वृद्धि गरेकाले नाफा बढेको हो । कम्पनी पूँजीवृद्धिका लागि शत प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा छ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट जेठ ५ गते स्वीकृति पाएको छ । कम्पनीले ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । विक्रीप्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । कम्पनीको चुक्तापूँजी रू. ३ करोड ९० लाख छ । हकप्रद निष्कासन गरेपछि पूँजी रू. ३ करोड ९७ लाख पुग्नेछ ।
कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ५३ दशमलव ७६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २१ दशलमव ३९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. २ हजार १ सय ६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ हजार १ सय ९९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ हजार ६१ मा टेवा पाउने देखिन्छ ।