विहार क्षेत्रमा मात्र करीब २ अर्ब लगानी, अझै ३ अर्ब लगानी हुने
सौन्दर्यीकरणका काम धमाधम
लुम्बिनी । सन् १९५४ मा म्यान्मा (बर्मा) मा भएको तेस्रो अन्तरराष्ट्रिय विश्व बौद्ध भातृत्व संघको चौथो सम्मेलनभन्दा अघिसम्म लुम्बिनीको विकासमा राष्ट्रिय चासो खासै थिएन । म्यान्मामा सम्पन्न उक्त सम्मेलनमा तत्कालीन राजा स्व. त्रिभुवनको प्रस्तावमा विश्व भातृत्व संघको चौथो सम्मेलन नेपालमा गर्ने प्रस्ताव स्वीकृत भएपछि मात्र लुम्बिनीको विकासमा राज्यले चासो देखाउन थालेको थियो । राजा त्रिभुवनले विसं २००८ सालमा लुम्बिनीको विकास गर्ने अभिप्रायले चार सदस्य सम्मिलित लुम्बिनी प्रबन्धक समिति गठन गरेका थिए । पछि उक्त समितिमा दुई सदस्य थपेर ६ सदस्यीय बनाएर लुम्बिनीको विकास र संरक्षणको अभियान शुरू गरेका थिए ।
विसं २०१३ वैशाखमा विश्व भातृत्व संघको चौथो अन्तरराष्ट्रिय सम्मेलन नेपालमा हुने निश्चित भएपछि तत्कालीन राजा महेन्द्रले लुम्बिनीस्थित मायादेवी मन्दिर, पवित्र कुण्ड र अशोक स्तम्भको हेरचाह गर्ने जिम्मा लुम्बिनी धर्मोदय समितिलाई लगाएका थिए । साथै मायादेवी मन्दिर, पुष्करणी पोखरी सरसफाइ र जीर्णोद्धार, भैरहवादेखि लुम्बिनीसम्मको सडक र एउटा धर्मशाला समेत बनाउने कामको शुरुआत भएको थियो ।
सन् १९५६ नोभेम्बर १५ देखि २१ सम्म भएको चौथो विश्व बौद्ध भातृत्व संघको अन्तरराष्ट्रिय सम्मेलनमा सहभागीहरूलाई लुम्बिनी र कपिलवस्तुको भ्रमण गराएपछि लुम्बिनीप्रति अन्तरराष्ट्रिय चासो बढेको थियो । यसै क्रममा राष्ट्र संघका तत्कालीन महासचिव उ थान्तले सन् १९६७ अप्रिल २३ मा लुम्बिनीको भ्रमण गरेका थिए ।
महासचिव थान्तको भ्रमणपछि लुम्बिनीको विकासका लागि थप अन्तरराष्ट्रिय चासो बढ्न थालेको हो । सन् १९७० मा महासचिव थान्तले नेपालका राजदूतको अध्यक्षतामा नेपालसहित भारत, थाइल्यान्ड, म्यान्मा, श्रीलंका, पाकिस्तान, मलेशिया, अफगानिस्तान, इन्डोनेशिया, सिंगापुर, लाओस र जापान गरी १३ ओटा राष्ट्रबाट सदस्यको रूपमा १३ ओटै देशका राजदूत सम्मिलित संयुक्त राष्ट्रसंघ स्तरीय समिति संयुक्त राष्ट्रसंघको कार्यालयमा स्थापना गरेका थिए । उक्त समितिका साथै लुम्बिनी बृहत् गुरुयोजना तयार पार्न एक उच्चस्तरीय सल्लाहकार समितिसमेत गठन गरिएको थियो । १३ देश सम्मिलित उक्त अन्तरराष्ट्रिय समिति भुटान र दक्षिण कोरियाका प्रतिनिधि समावेश भएपछि १५ सदस्यीय बनेको थियो । लुम्बिनीको विकासका लागि अघि सारिएको गुरुयोजना बनाउने तयारीका लागि तत्कालीन सरकारले मन्त्रिस्तरीय ‘लुम्बिनी विकास समिति’ गठन गरी सम्पूर्ण जिम्मा उक्त समितिलाई सुम्पिएको थियो ।
गुरुयोजनाको वास्तविक संरचना तयार पार्न विश्वविख्यात जापानी आर्किटेक्ट प्रोफेसर केन्जो टाँगेलाई जिम्मा लगाइएको थियो । विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ बिगाहा (३ वर्ग माइल) जमीनलाई उद्यान क्षेत्र, अन्तरराष्ट्रिय विहार क्षेत्र, नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेको छ ।
लुम्बिनी विकास कोषले गुरुयोजना अनुसार सबै काम एकैचोटि सक्नेगरी करीब ६ अर्बको ग्लोबल टेन्डर आह्वान गर्ने तयारी गरेको छ । कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार ग्लोबल टेन्डर आह्वान गर्नुपूर्व त्यस्ता संरचनाको योजना, डिजाइन र इस्टिमेट गर्न अन्तरराष्ट्रिय स्तरको परामर्शदाता छनोटको काम जारी छ । ३ वर्षभित्र गुरुयोजना पूरा हुँदा सौन्दर्यीकरणका काम समेत सकेर लुम्बिनीलाई संसारकै नमूना आध्यात्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने लक्ष्य राखेर काम गरिरहेको कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भिक्षु मेत्तेयले बताए ।
पवित्र उद्यान क्षेत्र
लुम्बिनी गुरुयोजनाले प्राथमिकता दिएको मुख्य क्षेत्र पवित्र उद्यान क्षेत्र हो । यो पवित्र उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीले घेरिएको छ । यो पोखरीलाई सर्कुलर लेबी भनिएको छ । वरिपरि निलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना यहाँ गरिएको छ । गोल पोखरीभित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पुरातात्त्विक महत्त्वका भग्नावशेष र प्राचीन लुम्बिनी ग्रामका अवशेष मात्र रहनेगरी कुनै पनि नयाँ निर्माणका काम गर्न रोक लगाइएको छ । उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्नबाट रोक्न गोलाकार नहरहरू बनाइएका छन् । गोलाकार नहर र पुरातात्त्विक क्षेत्रको हेरचाहका लागि पुरातात्त्विक कार्यालय बनाइएको छ । गोलाकार पोखरी बाहिर एउटा विशिष्ट अतिथिगृह र अर्को अतिविशिष्ट अतिथिगृह बनाउने योजना समेत गुरुयोजनामा छ ।
उद्यान क्षेत्रभित्र बुद्धको जन्म भएको स्थान, मायादेवी मन्दिर, मायादेवीले स्नान गरेको चिसो र तातो पानीयुक्त दुईओटा कुण्ड भएको पोखरी छ । त्यस्तै अशोक स्तम्भ, प्राचीन विहार, चैत्य आदिका भग्नावेशषको संरक्षण गरी बुद्धकालीन प्राचीन बगैंचा झल्काउने गरी विभिन्न पmूल र बिरुवा रोप्ने योजना छ । यहाँ रहेका ४१ ओटा उद्यानका प्लटमध्ये तीनओटा प्लटमात्र तयार भएका छन् । बाँकी सबै प्लटलाई यसै वर्षदेखि सौन्दर्यीकरण गर्ने योजना छ । पवित्र उद्यान क्षेत्रमा गुरुयोजना अनुसार निर्माण गर्ने ठूला संचरना करीब सम्पन्न भएका छन् । उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ । पोखरीका विभिन्न ५ स्थानमा पानीका रंगीन फोहोरा बनाउने योजनासमेत छ । पोखरीमा जलचर प्राणी र चराचुरुंगीको आगमन बढाउन उनीहरूको वासस्थान सुरक्षित गरेर यसको सौन्दर्यीकरण गर्ने योजना छ । आगामी वर्षभित्र यसको निर्माण कार्य पूरा हुनेछ ।
विहार क्षेत्र
पवित्र उद्यान क्षेत्रबाट उत्तरतपर्m रहेको अन्तरराष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी विहार क्षेत्र गरी दुई भागमा विभाजन गरिएको छ । यो दुई क्षेत्रलाई शान्ति दीपबाट शुरू भएको केन्द्रीय नहरले दुई अलग अलग भागमा छुट्याएको छ । यो क्षेत्रमा थेरवादी विहार, महायानी, वज्रयानी विहार, स्तुप तथा ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्यका साथ विभिन्न विहार र गुम्बाका लागि ४३ ओटा प्लट छुट्याइएको छ । त्यसैले यसलाई सानो बौद्ध संसार पनि भनिन्छ, जसमध्ये पूर्वी विहार क्षेत्रमा थेरवादी बौद्ध सम्प्रदाय रहेका १३ ओटा मुलुकमध्ये नेपाल लगायत सात मुलुकका आकर्षक विहार निर्माण भइसकेका छन् । पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मुलुकमध्ये २१ मुलुकले आफ्नो संस्कृति झल्कने आकर्षक विहार बनाइसकेका छन् । केही विहार निर्माणाधीन छन् ।
गुरुयोजनामा विहार क्षेत्रको बीचमा प्रस्तावित केन्द्रीय नहरको दायाँ बायाँ पानीमा फुल्ने लिली फूलहरू लगाउने काम बाँकी छ । आगन्तुकलाई ध्वनि प्रदूषणरहित डुंगाबाट नहरको शयर गराउने योजना गुरुयोजनामा छ । नहरको दायाँ बायाँ हरियाली बगैंचाको विकास गरी त्यसमा आरामदायी कुर्सीका साथै पेयस्थल निर्माणका काम बाँकी छन् । नहरको दुवैतर्फ हाल रहेको सडक क्षेत्रमा विभिन्न रंगीचंगी फूलहरू रोप्ने काम शुरू भएको छ । केन्द्रीय नहरबाट कोरियाली विहार जाने सडकको दुवैतिर पनि बगैंचा निर्माण भइरहेको छ ।
केन्द्रीय नहरको दायाँ बायाँ पैदल यात्राका लागि इँटाले छापिएको बाटोको निर्माण सम्पन्न भएको छ । त्यहाँ लस्करै ठडाइएका फलामका पोल हटाएर अझ भव्य र आकर्षक देखिने इटालियन पोल राख्न अध्ययन शुरू भएको छ । बाटोको दायाँ बायाँ जुनसुकै मौसममा फुल्ने विभिन्न १४ प्रजातिका फूलबिरुवा १६ लाइन मिलाएर रोप्ने काम शुरू भएको छ । पूर्वी र पश्चिमी विहार क्षेत्रलाई जोड्न केन्द्रीय नहरका विभिन्न स्थानमा अर्धगोलाकार पुलहरू निर्माण भएका छन् । केन्द्रीय नहरको दुवैतिर पर्यटक विश्राम गर्ने बेन्चहरू राखिनेछ ।
नयाँ लुम्बिनी ग्राम
योजनाबद्ध रूपमा विकास भइरहेको ३ वर्ग माइलमध्ये उत्तरतर्फको १ वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनी ग्राम नामकरण गरिएको छ । तीर्थयात्री तथा पर्यटकलाई आवश्यक भौतिक सुविधा पुर्याउने संरचना यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।
नयाँ लुम्बिनी ग्राम क्षेत्रमा कतिपय संरचना बनेर सञ्चालनमा आइसकेका छन् । यद्यपि थुप्रै महत्त्वपूर्ण संरचना बन्न बाँकी छन् । गुरुयोजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको थियो, जसमध्ये १ सय बेडको सबै सुविधायुक्त विलासी होटल, १५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, २ सय बेडको साधारण आवासगृह र चार वटा क्याम्प्रिङ निर्माण गर्ने योजना बनाएको थियो, जसमध्ये तीनतारे स्तरका होटल सञ्चालनमा छन् भने क्याम्पिङ निर्माणको काम बाँकी छ ।
गत वर्षदेखि यस क्षेत्रका महत्त्वपूर्ण संरचनाको निर्माण शुरू भएको छ । पर्यटक सूचना केन्द्र र लुम्बिनी विकास कोषको प्रशासनिक भवन निर्माण सम्पन्न भएर सञ्चालनमा छन् । यहाँ डोम आकारका यस्ता आठओटा भवन बन्नेछन् । लुम्बिनी विकास कोषले यी भवनलाई लुम्बिनीको धरोहरका रूपमा लिएको छ । बैंक, प्रहरी, उपचार भवन, ट्राभल एजेन्ट र रेस्टुराँका लागि यस्ता भवन बन्नेछन् ।
गुरुयोजना क्षेत्रभित्र ९ ओटा गेटमा आधुनिक सुरक्षा पोस्टहरूको निर्माण करीब सकिएको छ । १६ किलोमिटर लामो सुरक्षा पर्खाल निर्माण पनि पूरा भएको छ । बाहिरी सडक निर्माणका कारण कतिपय स्थानमा भत्किएको पर्खाल निर्माणको काम फेरि शुरू हुँदै छ ।
नयाँ लुम्बिनी ग्राम क्षेत्रमा ३५ करोडको लागतमा अग्लो खानेपानी टयांकी निर्माण भइसकेको छ । ३५ करोडकै लागतमा अन्डरग्राउन्ड टेलिकम्युनिकेशन तथा विद्युतीय विस्तार र ३५ करोडकै लागतमा ढल निकासको काम शुरू भएका छन् । नयाँ लुम्बिनी ग्राम क्षेत्रमा १ हजार क्षमताकोे अस्थायी सभाहल समेत निर्माण भएको छ । यसै क्षेत्रमा हाई स्कूल तथा अस्पतालको परिकल्पना समेत गुरुयोजनाले गरेको छ । हाई स्कूलको नाममा लुम्बिनी गुरुयोजनाकै डिजाइनअनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयको आवास क्षेत्र निर्माण गरिएको छ । यी भवनहरू २० वर्ष विश्वविद्यालयले उपयोग गरेपछि हाईस्कुल सञ्चालन गर्ने कोषको योजना छ ।
उज्यालो लुम्बिनी
अहिलेसम्म लुम्बिनी गुरुयोजना क्षेत्रभित्र विद्युतीय व्यवस्था निकै कमजोर छ । गुरुयोजना क्षेत्रभित्र कोषले राखेका सोलार बत्तीहरू बिग्रिसकेका छन्, जसका कारण रातमा लुम्बिनी अध्यारो हुँदै आएको छ । तर कोषले अब लुम्बिनी क्षेत्रलाई उज्यालो पवित्र क्षेत्रको रूपमा विकास गर्दै छ । लुम्बिनीका सबै संरचना रातमा समेत प्रस्ट देख्न र क्यामेरामा कैद गर्न मिल्नेगरी उज्यालो बत्तीको व्यवस्था गरिँदै छ । सबै मूल सडक र सहायक सडकहरूमा बत्ती राखिनेछ । परिक्रमा पोखरीमा रंगीन बत्तीसहितका पानीका फोहोरा बनाइनेछ । रात अबेरसम्म र चाहनेहरूका लागि रातभर ध्यान बस्न मिल्नेगरी उज्यालोको व्यवस्था गरिने कोषले बताएको छ । यसका लागि कोषले वैकल्पिक ऊर्जाको रूपमा ३५० किलोवाटको सोलार प्लान्ट समेत जडान गर्दै छ ।
हरियो लुम्बिनी
लुम्बिनी जैविक विविधताका दृष्टिले निकै महŒवपूर्ण क्षेत्र भएको र गुरुयोजनाले समेत लुम्बिनी विकास कोषको ६० प्रतिशत भूभाग हरियाली हुनुपर्ने उल्लेख गरेकाले यसलाई व्यवस्थित गर्न कोषले यस वर्षदेखि काम थालेको छ । रोपिएका रूखहरू हुर्काउन चिस्यानको आवश्यकता पर्ने भन्दै कोषले विभिन्न १० स्थानमा ठूला–ठूला पोखरी निर्माण गर्न थालेको छ । पोखरीमा पानी भरेर राख्दा वरिपरिको जमीनमा रुख, बिरुवा सजिलै हुर्किने र पाहुना चराको संख्या बढ्ने विश्वास गरिएको छ । पोखरी निर्माणसँगै यस वर्ष २ हजार ६४२ ओटा फलफूलका बिरुवा रोप्ने कार्यक्रम छ । बुद्ध जन्मिएको २ हजार ६४२ वर्ष पुगेको अवसरमा यो संख्यामा रूख रोप्ने निर्णय गरिएको कोषले बताएको छ ।
गुरुयोजना विनाका आयोजना
लुम्बिनी गुरुयोजनाले उल्लेख नगरेका कतिपय ठूला आयोजना समेत लुम्बिनीमा निर्माण भएका छन् । त्यस्ता आयोजनाले पनि लुम्बिनीको सुन्दरतामा टेवा पु¥याएको छन्, यद्यपि गुरुयोजना विपरीत निर्माणका काम गर्न नहुने आवाज लुम्बिनीमा पटक पटक उठ्दै आएको छ । शान्ति दीप नजीकै मायादेवी मन्दिर जाने बाटोमा निर्माण भएको ‘बेबी बुद्ध’ गुरुयोजना विपरीत छ । यद्यपि यो संरचनाले लुम्बिनीलाई थप आकर्षण थपेको छ । थाई विहारको सहयोगमा शान्ति दीपको दायाँतर्फ निर्माण भएको विश्रामगृह पनि गुरुयोजना बाहिरको योजना हो । यसले पनि लुम्बिनी आउने पर्यटकलाई निकै सुविधा दिएको छ । अहिले निर्माण भएको १ हजार क्षमताको अस्थायी सभाहल पनि गुरुयोजना विपरीतकै योजना हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्माण शुरू भएको ५ हजार जना अट्ने ध्यान तथा सभागृह पनि गुरुयोजनामा छैन । तर यसलाई पनि लुम्बिनीको निकै महत्त्वपूर्ण पूर्वाधारको रूपमा लिइएको छ । नयाँ लुम्बिनी ग्राम क्षेत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयले ६ ओटा भवन बनाएको छ । गुरुयोजनाले भनेको डिजाइनमा बने पनि यी भवन गुरुयोजनाको परिकल्पना अनुसारका छैनन् ।
गुरुयोजनाले अशोक स्तम्भ, शान्ति दीप, केन्द्रीय नहर, ६ लाख लिटर पानी अटाउने गुम्बाकारको पानी ट्यांकी र शान्ति स्तुपा एउटै लहरमा पर्नेगरी योजना बनाएको थियो । तर शान्ति स्तुपाको अगाडि निर्माण हुने पानी ट्यांकीले शान्ति दीपबाट हेर्दा स्तुपा छेक्ने भएपछि कोषले शान्ति दीपको दुवैतिर पर्नेगरी पर्ने ३–३ लाख लिटरका दुईओटा पानी ट्यांकी निर्माण गरेको छ । गुरुयोजनामा परिक्रमा पर्खालको अवधारणा नभए पनि कोषले सुरक्षाका लागि पर्खाल निर्माण गरेको छ । सन् १९७८ मा टाँगेले परिकल्पना गरेको गुरुयोजनाका कतिपय डिजाइनबाट लुम्बिनी विकास कोष असन्तुष्ट छ । गुरुयोजना अनुसार बनेका डोम आकारका भवन कार्यालय वा अन्य प्रयोजनमा त्यति उपयुक्त देखिएका छैनन् । कतिपय संचरना हावाहुरी र तापक्रमका कारण क्षतिसमेत भएका छन् । समयानुकूल गुरुयोजनाले निर्धारण गरेका भवनको डिजाइन थपघट गरेर संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको कोषका प्राविधिकहरूले बताउँदै आएका छन् ।
कहाँ कति खर्च भयो लुम्बिनीमा ?
खर्च विवरण अनुसार लुम्बिनी गुरुयोजनाभित्र विहार क्षेत्रमा सबैभन्दा बढी १ अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ ओटा विहार नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चिनियाँ र जर्मन विहार निर्माणका लागि ती मुलुकले ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को मुलुक थाइल्यान्डले १० करोड २५ लाख लागतमा विहार बनाएको छ । विहार क्षेत्रमा अझै २२ करोड लगानी हुने अनुमान छ ।
गुरुयोजना अनुसार नयाँ लुम्बिनी ग्राम क्षेत्रमा १ अर्ब २७ लाख ६० हजार लगानी भएको छ । यो क्षेत्रमा निर्माण भएका होक्के होटल र होटल कासाईले ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तरराष्ट्रिय संस्था रेयुकाईले ३० करोड ८० लाख लागतमा अन्तरराष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यो क्षेत्रमा अझै करीब ३ अर्बको लागतमा विभिन्न भौतिक संरचना निर्माण हुनेछन् ।
लुम्बिनीको सबैभन्दा सुन्दर, आकर्षक र महत्त्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ३८ करोड ८१ लाख लगानी भएको छ । यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख लगानी गरिएको छ भने मायादेवी मन्दिर निर्माणका लागि ७ करोड लगानी भएको थियो । गुरुयोजना अनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका काम गर्न ५२ करोड लाग्ने अनुमान छ । त्यस्तै लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै २४ करोड खर्च भएको थियो । यहाँ गुरुयोजना अनुसार बाँकी नहर निर्माण, नदी डाइभर्शन, सांकेतिक पेभेलियन निर्माण, विद्युतीय व्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि २ अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान छ ।