प्रुडेन्शियल इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, ९ जेठ २०७६)
May 23, 2019
 
लगानी
कम्पनी विश्लेषण
यस कम्पनीले बीमा समितिले तोकेबमोजिम रू. १ अर्ब चुक्तापूँजी पुर्याउन अझै सकेको छैन । कम्पनीको चुक्तापूँजी हाल रू. ६४ करोड १५ लाख २० हजार छ । अघिल्लो आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले हालसम्म गतवर्षको वार्षिक साधारणसभा आयोजना गरेको छैन । कम्पनीको जगेडा कोषमा रू. २३ करोड २९ लाख ६ हजार रहेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको बीमा कोषमा रू. ४६ करोड १४ लाख ८४ हजार छ । तेस्रो त्रैमासमा कम्पनीले रू. १२ करोड ७२ लाख ६६ हजार खुद नाफा गरेको छ । यो नाफा गतवर्षको सोही अवधिमा रू. १२ करोड १६ लाख ४९ हजार थियो । तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९४ करोड २३ लाख १९ हजार बीमा शुल्क आर्जन गरेको छ । प्रतिशेयर आम्दानी रू. २६ दशमलव ४५ छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ३५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ११ दशमलव ८० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ७०५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७३९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६७० मा टेवा पाउने देखिन्छ ।