युनाइटेड इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, ९ जेठ २०७६)
May 23, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले पूँजीवृद्धिका लागि २४० प्रतिशत हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा २०७५ चैत २९ गते निवेदन दिएको छ । कम्पनीले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर जारी गर्न निवेदन दिएको हो । विक्रीप्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३० करोड २४ लाख छ । २ सय ४० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । चालू आवको ९ महीनामा कम्पनीले रू. ७ करोड ५५ लाख नाफा कमाएको छ । सो अवधिमा कम्पनीले रू. ३५ करोड ५५ लाख बीमा शुल्क आर्जन गरेको छ । बुधवारको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ४ हजार १ सय ६ कित्ता शेयर विक्री गर्ने र १ हजार ८ सय ७० कित्ता शेयर खरीद गर्ने माग थियो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ५४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १४ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । बुधवारको शेयरमूल्य रू. ९ सय ५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९ सय २३ मा टेवा पाउने देखिन्छ ।