काठमाडौं । विगत ५ वर्षमा ७ लाख ८२ हजार मेट्रिक टन (मेटन) चिनी उत्पादन भएको छ । चिनी उत्पादक संघका अनुसार हाल सञ्चालनमा रहेका १४ मिलबाट उक्त परिणाममा चिनी उत्पादन भएको हो । खाँडसारी मिलको उत्पादन भने यसमा जोडिएको छैन । खाँडसारी मिलसहित मुलुकमा हाल २९ चिनी मिल उद्योग विभागमा दर्ता छन् ।
चिनी उत्पादक संघको तथ्यांकअनुसार विगत ५ वर्षमा चिनी उत्पादनमा उतारचढाव देखिन्छ । १४ मिलबाट आर्थिक वर्ष २०७१/७२ मा १ लाख ७२ हजार ८ सय २६ मेटन चिनी उत्पादन भएकोमा २०७२/७३ मा उत्पादन घटेको देखिन्छ । सो वर्ष १ लाख ४७ हजार मेटन चिनी उत्पादन भएको छ ।
यस्तै २०७३/७४ मा १ लाख २२ हजार मेटन चिनी उत्पादन भएकोमा २०७४÷७५ मा उत्पादन बढेर १ लाख ७७ हजार मेट्रिक टन पुगेको छ । तर चालू आव २०७५÷७६ को चैतसम्मको तथ्यांकअनुसार भने यो वर्ष चिनी उत्पादन पोहोरभन्दा घटेको देखिन्छ, जसअनुसार १ लाख ६२ हजार मेटन चिनी मात्रै उत्पादन भएको छ । चिनी उत्पादनको सिजन असोजदेखि चैतसम्म नै हो । वैशाख पहिलो हप्तासम्म सबै मिल बन्द भइसक्छन् । पछिल्लो समय उखुखेती बढिरहे पनि तथ्यांकले भने चिनीको उत्पादनमा घटबढ देखिनुले नेपाली कृषकले उत्पादन गरेको उखु सही रूपमा प्रयोग भए÷नभएकोबारे आशंका उब्जिएको छ ।
उद्योगीले स्वदेशमा उत्पादित उखु प्रयोग नगर्ने, तर बाह्य मुलुकबाट उखु आयात गर्ने गरेको आरोप पनि बेलाबेला लागेको पाइन्छ । तर चिनी उद्योगी यो आरोप स्वीकार्न तयार हुँदैनन् । चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले भने, ‘बाह्य उखु आयात हुँदै भएको छैन, सरकारले नै बाहिरबाट चिनी आयातमा यसअघि खुला गरेका कारण बाह्य चिनीले बजार पायो, स्वदेशी विक्री हुन सकेन, यसैले उत्पादनमा उतारचढाव आएको हो ।’
उनका अनुसार सरकारले २०७४ वैशाख ३० देखि चिनीको भन्सार महशुल १५ प्रतिशतबाट ३० प्रतिशत बनाउँदा पनि आयात घट्न नसकेकाले चिनी उद्योगहरूको अझै घाटा बढिरहेको छ ।
चालू आव २०७५/७६ मा समेत भने उद्योगीहरू उद्योग घाटामा रहेको देखाउँछन् । चैतसम्ममा नेपाली चिनी उद्योगहरू करीब रू. २ अर्ब २५ करोड घाटामा रहेको चिनी उत्पादक संघको भनाइ छ । स्वदेशी उत्पादन विक्री हुन नसक्दा उखु किसानले भुक्तानी पाउन नसकेको संघका अध्यक्ष अग्रवाल बताउँछन् ।
संघको तथ्यांकअनुसार चालू क्रशिङ सिजनको २०७५ चैत २५ सम्म १ लाख ६२ हजार २५० मेट्रिकटन चिनी उत्पादन भएको छ । चैतसम्मको उत्पादन, पुरानो मौज्दात ७६ हजार ५४२ मेटन र चालू क्रशिङ सिजनको अनुमानित २८ हजार २५० मेटन गरी २ लाख ७६ हजार मेटन मौज्दात छ । उक्त मौज्दातमध्ये चैत २५ सम्ममा ७७ हजार मेटन चिनी विक्री हुँदा अनुमानित १ लाख ९० हजार मेटन मौज्दात रहनेछ । देशमा वार्षिक २ लाख ५० हजार मेटन चिनीको माग रहेको अनुमान छ । आगामी मङ्सिरसम्म अनुमानित १ लाख ७० हजार मेटन चिनी खपत हुँदा करीब २० हजार मेटन चिनी मौज्दात रहने चिनी उत्पादन संघका अध्यक्ष अग्रवाल बताउँछन् ।
क्षमताभन्दा बढी उत्पादन
अधिकांश चिनी मिलहरूले आफ्नो क्षमताभन्दा बढी चिनी उत्पादन गरेको तथ्यांकले देखाउँछ । उद्योग विभागका अनुसार एभरेस्ट सुगर एन्ड केई लिमिटेडको वार्षिक क्षमता २८ हजार ८ सय मेटन हो । तर १ वर्षको अवधिमा अर्थात् आव २०७४÷७५ मा मात्र सो उद्योगबाट ३ लाख ८४ हजार मेटन चिनी उत्पादन भएको छ । त्यस्तै इन्दुशंकर चिनी उद्योगको क्षमता ३२ हजार ४ सय रहे पनि सो उद्योगबाट सोही आवमा ३ लाख ५५ हजार मेटन चिनी उत्पादन भएको देखिन्छ । अन्य उद्योगले पनि उद्योग विभागबाट लिएको स्वीकृतिभन्दा बढी नै चिनी उत्पादन गरिरहेका छन् ।