ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनी उखु विशेष : गुलियो उत्पादनको तीतो कथा

May 24, 2019  
मुख्य खबर अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
समग्र नीतिगत सुधार आवश्यक काठमाडौं । चिनीमा सम्रग नीतिगत सुधार आवश्यक देखिएको छ । हालसम्म सरकारले नियमनका लागि गरेका प्रयासले सरकार, चिनी मिल, कृषक र उपभोक्ता कसैलाई पनि फाइदा नपुगेको अवस्थामा नीतिगत सुधार आवश्यक देखिएको हो । यसमा संलग्न वा सरोकार राख्ने सबै क्षेत्रले तीव्र असन्तुष्टि व्यक्त गरिरहँदा पनि उखुखेतीमा प्रयोग भएको जमीनको क्षेत्रफल बढिरहेको छ । चिनी मिलहरूको संख्या र उखुको उत्पादन पनि बढ्दै गएको देखिन्छ । तर प्रतिहेक्टर उखुको उत्पादकत्व भने घट्दै गएको छ र उत्पादनमा निकै उतारचढाव छ । यो समस्याले पनि यस क्षेत्रमा नीतिगत सुधारको आवश्यकता देखिन्छ । यस क्षेत्रमा प्रशस्त सम्भावना र आकर्षण हुँदाहुँदै असन्तुष्टि यथावत् रहेकाले सरकारले यसमा स्वतन्त्र नियामक संयन्त्र बनाउनुपर्ने देखिन्छ । चिनी उद्योगहरूले उखुबाट चिनीबाहेक, मोलासेस, बिजुली, बगास, स्पिरिट, इथानोल लगायत ‘बाई प्रडक्ट’ उत्पादन गरे पनि स्पष्ट नीतिगत व्यवस्थाको अभावका कारण ती बाई प्रडक्टहरू प्रयोग गरेर मिलहरूले त्यसबाट खासै आम्दानी गर्न सकेका छैनन् । परिणामस्वरूप नेपाली चिनीको मूल्य महँगो पर्न गएको छ । अर्कोतर्फ उखु र चिनीको उत्पादन राम्रो हुँदा पनि चिनीको आयात घट्न सकेको छैन । नेपालमा विगत १० वर्षमा उखुखेती गर्ने जमीनको क्षेत्रफल बढेको छ । तर उत्पादन र उत्पादकत्व भने घटेको छ । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा दिइएको तथ्यांकलाई आधार मान्दा १० वर्षमा २० हजार हेक्टर क्षेत्रफल बढे पनि त्यसको तुलनामा उत्पादन र उत्पादकत्व बढेकोे देखिँदैन । उत्पादन र उत्पादकत्व नबढ्दा पनि किन किसानहरू उखुखेती नै गर्छन् भन्ने प्रश्न मन्त्रालयको तथ्यांकले देखाउँछ । २०६५/६६ मा ५८ हजार हेक्टर क्षेत्रफलमा उखुखेती हुने गरेकोेमा २०७४/७५ मा ७८ हजार हेक्टरभन्दा बढीमा उखुखेती भएको छ । ५८ हजार हेक्टरमा उखुखेती गर्दा प्रतिहेक्टर उत्पाकत्व ४० दशमलव ५८ मेट्रिक टन (मेटन) थियो भने २०७४/७५ मा ७८ हजार ६०९ हेक्टर क्षेत्रफलमा उखुखेती हुँदा उत्पादकत्व जम्मा ४५ दशमलव ३ मेटन छ । १० वर्षअघि ५८ हजार हेक्टर क्षेत्रफलमा उखुखेती गर्दा २३ लाख ३५ हजार ४०० मेटन उखु उत्पादन भएको थियो । २०७४/७५ मा ७८ हजार ६०९ हेक्टरमा उखुखेती गर्दा ३५ लाख ५८ हजार १८२ मेटन उखु उत्पादन भएको छ । आव आव २०७४/७५ मा चिनी उत्पादनका लागि राम्रो वर्ष मानिएको थियो । सो वर्ष विश्वमै चिनीको उत्पादनमा वृद्धि भएको देखिन्छ । सो वर्ष नेपालमा आव २०७३/७४ को भन्दा ५५ हजार ८९३ मेटन बढी चिनी उत्पादन भएको थियो । सो वर्ष विश्व बजारमै चिनीको मूल्य घटेको थियो । फलस्वरूप आव २०७३/७४ मा नेपालमा चिनीको आयात मूल्य प्रतिकिलो औसत ९७ रुपैयाँ भएकोमा आव २०७४/७५ मा घटेर प्रतिकिलो औसत रू. ४८ रुपैयाँसम्म आइपुगेको थियो । त्यस्तै चालू आवको गत कात्तिकमा चिनीमा भन्सार बढाइएको थियो भने आयातमा परिणात्मक बन्देज पनि लागेको थियो । तर यसले एकातिर उपभोक्तालाई चिनीको मूल्य महँगो भएको छ भने अर्कोतिर चिनी मिलहरू अझै आफ्नो उत्पादनले बजार नपाएको गुनासो गर्छन् । आफ्नो चिनी नबिकेर किसानलाई उखुको भुक्तानी दिन नसकिएको उनीहरूको भनाइ छ । उखुको मूल्य, मल, बीउबिजन, चिनीको मूल्य, आयात तथा कोटाका बारेमा संसद्को पूर्ण बैठकदेखि संसद्का विषयगत समितिमा व्यापक छलफल चलेको छ । तैपनि समस्या जहीँको तहीँ छ । सधैं एउटै समस्या बोकेर हिँड्नुभन्दा सरकार, चिनी मिल, कृषक र उपभोक्ता सबैलाई फाइदा हुने दिगो समाधान खोज्न आवश्यक देखिन्छ । कृषकहरू किन उखुखेती गरिरहन्छन् ? किसानले आफूले विक्री गरेको उखुको भुक्तानी समयमा नपाएको गुनासो हरेक वर्ष गर्छन् । तर किन उनीहरू उखुखेती छाडेर अन्य खेती गर्दैनन् भन्ने प्रश्न सधैं उठ्ने गर्छ । यसको कारण एकपटक उखु खेती लगाएपछि ३ वर्षसम्म रहन्छ । त्यो उखुमा थप धेरै मिहिनेत नगरेपनि त्यसमा केहि उत्पादन त भइरहन्छ । त्यसलाई हटाएर अन्य खेती गर्न खोजे त्यसको लागत धेरै पर्छ । साथै, उखुका लागि सबैभन्दा बढी उपयुक्त जग्गामा अर्काे खेती हुन सक्दैन । उखु खेतीलाई प्रशस्त पानी चाहिन्छ । केही दिनको डुबानले फरक पर्दैन । त्यस्तो पानी लाग्ने जमिनमा धान खेती गर्न सकिन्छ । तर धानमा पानी केही दिन पनि जम्न हुँदैन । यसैले पनि भुक्तानीका समस्या देखिए वा उखुको उचित मूल्य नपाए पनि किसानहरू उखुखेतीबाट बाहिरिन सकेका छैनन् । किसानलाई यस बालीमा टिकाइरहन सरकारले उन्नत बीउबिजन, मेशिन/औजार, मललगायतको उचित प्रबन्ध गर्न आवश्यक छ । उद्योगीहरूका अनुसार नेपालको उखुबाट औसत १०० केजी बराबर ९ किलो मात्र चिनी उत्पादन हुन्छ । नेपालमा उत्पादित उखुको गुणस्तर कम हुँदै गएकाले गुणस्तर सुधार्न र उत्पादन बढाउन उन्नत बीउ आवश्यक पर्ने उनीहरूको बुझाइ छ । भारतबाट बीउ उखु ल्याउन प्रतिबन्ध रहेको अवस्थामा यसको समाधानका लागि पनि नेपालमा उखुखेतीका बारेमा अनुसन्धान गर्ने छुट्टै निकायको आवश्यकता देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)