फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (आइतवार, १२ जेठ २०७६)
May 26, 2019
 
लगानी
कम्पनी विश्लेषण
लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्दै आएको फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीले यस वर्ष ४५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले शेयरधनीका लागि २५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले अघिल्लो वर्ष ६५ लाभांश वितरण गरेको थियो । कम्पनीले पुस २९ गते नै साधारणसभामार्फत पारित गरेको कम्पनीले नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिसकेको छ । हालसम्म कम्पनीले बोनस शेयर भने वितरण गरेको छैन । कम्पनीको शेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका सुजन महर्जनका अनुसार बोनस शेयर सूचीकृत प्रक्रियाका लागि सीडीएसमा पठाउने तयारी रहेको छ । उनले कम्पनीको बोनस शेयर केही दिनमा नेप्सेमा सूचीकत हुने बताए । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. २३ करोड ५८ लाख खुद नाफा गरेको छ ।
कम्पनीको ६१ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ४८ विन्दुमा छ । यसले शेयर विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव २७ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाडिएका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ५१९ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार ५८० मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ हजार ५०० मा टेवा पाउने देखिन्छ ।