नाडेप लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (आइतवार, १२ जेठ २०७६)
May 26, 2019
 
लगानी
कम्पनी विश्लेषण
सर्वसाधारणलाई आईपीओ वितरण गरेपछि शत प्रतिशत हकप्रद शेयर र १५ प्रतिशत बोनस दिएको नाडेप लघुवित्तले चालू आर्थिक वर्षको ९ महीनामा रू. १ करोड ६८ लाख ६१ हजार खुद नाफा आर्जन गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३२ करोड छ । कम्पनीले वैशाख २६ गते सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गरेको छ । पारित बोनस भने वितरण हुन बाँकी छ । वार्षिक ७ रुपैयाँ ३ पैसा प्रतिशेयर आम्दानी रहेको यस कम्पनीले यस ९ महीनामा रू. १ अर्ब ५ करोड ६४ लाख निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब ६९ करोड ६७ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ३८ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । ४६ ओटा जिल्लामा ७८ शाखा कार्यालयमार्फत हाल कम्पनीले लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई ओभर सोल्ड जोन १९ दशमलव १४ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४५९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४९८ मा प्रतिरोध पाउने देखिन्छ । ६० दिनको कारोबारमा बिहीवारको मूल्य नै सबैभन्दा कम हो ।