उन्नति माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, १४ जेठ २०७६)
May 28, 2019
 
लगानी
कम्पनी विश्लेषण
गत आवको मुनाफाबाट शेयरधनीलाई उन्नति माइक्रोफाइनान्स कम्पनीले ४२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर र २ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीको माघ २६ गते सम्पन्न सभाले उक्त लाभांश पारित गरेको थियो । कम्पनीले हालसम्म सो लाभांश शेयरधनीको खातामा पठाएको छैन । कम्पनीको सभाले ५ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीले हकप्रद निष्कासन गरी बाँडफाँटसमेत गरेको छ । कम्पनीले चालू आवको ९ महीनामा रू. ३ करोड १६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १ करोड ८० लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ७ करोड ७२ लाख छ । कम्पनीको निष्क्रिय कर्जा १ दशमलव शून्य ३ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रू. ५४ दशमलव ६६ छ ।
कम्पनीको ६३ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ३४ दशमलव ५४ विन्दुमा छ । यसले शेयर विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव ४९ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. १ हजार ३९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ९० मा प्रतिरोध पाउने देखिन्छ । सोमवारको शेयरमूल्य ६३ दिनको कारोबारमा सबैभन्दा कम हो ।