शिखर इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, १५ जेठ २०७६)
May 29, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. २ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले रू. ३३ करोड ६२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३१ करोड १ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट रू. २८ करोड २४ लाख आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड छ । कम्पनीले आव २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर वितरण गरेको छ भने गत आवको साधारणसभाको आयोजना गरेको छैन । बीमा कोषमा रू. १ अर्ब १ करोड जम्मा भएको छ । रिजर्भ कोषमा रू. ४१ करोड छुट्याएको छ । मंगलवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ७ हजार २९९ कित्ता शेयर खरीद गर्ने र ३ हजार ७१५ कित्ता शेयर विक्री गर्ने माग थियो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३३ दशमलव ४५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ८५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८६३ मा प्रतिरोध पाउने देखिन्छ ।