गुराँस लाइफ इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (बुधवार, १५ जेठ २०७६)
May 29, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले पूँजीवृद्धिका लागि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको छ । उक्त हकप्रद शेयर कम्पनीले २०७५ चैत २८ गतेदेखि २०७६ जेठ १ गतेसम्म निष्कासन गरेको हो । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८९ करोड १० लाख पुग्नेछ । साथै, कम्पनीले २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर वितरण गरेपछि पूँजी रू. ९३ करोड ८५ लाख पुग्नेछ । अझै बीमा समितिले तोकेको चुक्तापूँजी पुगेको छैन । बीमा समितिले लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पु¥याउन निर्देशन दिएको थियो । सोही अनुसार पूँजीवृद्धिका लागि कम्पनीले पुनः शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव कम्पनीको चैत २१ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको हो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. ५ करोड ६५ लाख नाफा कमाएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ८५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ३१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ५५३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५९७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४९४ मा टेवा पाउने देखिन्छ ।