आरम्भ माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, १६ जेठ २०७६)
May 30, 2019
 
लगानी
कम्पनी विश्लेषण
मर्जरमा जाने तयारीमा रहेको आरम्भ माइक्रोफाइनान्सले यससम्बन्धी प्रस्ताव वैशाख २६ गते विशेष साधारणसभा मार्फत पारित गरिसकेको छ । कुन कम्पनीसँग मर्जरमा जाने भन्नेबारे कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन । रू. ६ करोड चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोष रकम रू. ५१ लाख ७५ हजार छ । चालू आर्थिक वर्षको ९ महीनामा यस कम्पनीले रू. ७६ लाख ६७ हजार खुद नाफा गरेको छ । यो नाफा गतवर्ष रू. १९ लाख ६२ हजार थियो । गतवर्षभन्दा यस वर्ष नाफामा उल्लेख्य वृद्धि भएको छ । गतवर्षसम्म रू. १५ लाख २६ हजार सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष रू. ८४ लाख ३३ हजार सञ्चालन मुनाफा गरेको छ । गतवर्ष ३ दशमलव ३२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ५९ प्रतिशतमा सीमित छ । प्रतिशेयर आम्दानी वार्षिक रू. १२ दशमलव ७७ छ । बुधवारको कारोबारमा कम्पनीको शेयरमूल्य स्थिर रही रू. ५५० कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने अथवा घट्ने निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ३७ दशमलव ४३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ५५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५६२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५३९ मा टेवा पाउने देखिन्छ ।