लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) : कम्पनी विश्लेषण (शुक्रवार, १७ जेठ २०७६)
May 31, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३४ दशमलव ४७ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४९ करोड छ । प्रस्ताव गरेको ३४ प्रतिशत बोनस शेयर वितरणपछि बीमा समितिले तोकेबमोजिम रू. २ अर्ब पुग्नेछ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १० करोड ७१ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७ प्रतिशत बढी हो । कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि शेयरमूल्यमा वृद्धि भएको थियो भने बिहीवार कम्पनीको शेयरमूल्य १८ अंक घटेर रू. १ हजार ८०५ मा बन्द भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो टुप्पी र पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ५४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४२ दशमलव ९२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ८ सय ५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ९ सय ३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ६ सय ९ मा टेवा पाउने देखिन्छ ।