हिमालयन बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १७ जेठ २०७६)
May 31, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षसम्मका लागि ३० लाख कित्ता ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । बैंकले सेबोनमा वैशाख ६ गते ऋणपत्र जारी गर्न निवेदन दिएको हो । कम्पनीले ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत संघसंस्थाका लागि जारी गर्नेछ । विक्रीप्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड छ । बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. २ अर्बभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब ८२ करोड नाफा कमाएको थियो । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ५२ करोड छ । गत आवको नाफाबाट बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गरेको हो । बिहीवारको शेयर कारोबारमा बैंकको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ४ अंक घटेर रू. ५ सय ८६ मा बन्द भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ८५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ८१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ५८६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५९२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५७६ मा टेवा पाउने देखिन्छ ।