नेपाल इन्भेष्टमेन्ट बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १७ जेठ २०७६)
May 31, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले जेठ २४ गतेदेखि २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । २० लाखमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघसंस्थालाई विक्री खुला गर्ने भएको हो । छिटोमा जेठ २८ र ढिलोमा असार २२ गते ऋणपत्र निष्कासन तथा विक्री बन्द हुनेछ । बैंकले १० दशमलव ५ प्रतिशत ब्याजदरमा २०८२ सम्मका लागि ऋणपत्र जारी गर्न लागेको छ । विक्रीप्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. २ अर्ब ५६ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशत कम हो । सो अवधिमा बैंकले रू. २ अर्ब ८३ करोड नाफा कमाएको थियो । हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५८ करोड छ । गत आवको नाफाबाट बैंकले शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप्स आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ४८ दशमलव शून्य ५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ६५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा माथि र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ५४३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५८५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५३२ मा टेवा पाउने देखिन्छ ।