सिन्धु विकास बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १७ जेठ २०७६)
May 31, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. ३ करोड ६० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९८ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ करोड ८१ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा रू. ८५ लाख ८६ हजार खराब कर्जा उठाएकाले नाफा बढेको हो । बैंकको चुक्तापूँजी रू. ५० करोड छ । रिजर्भ कोषमा रू. ९ करोड ७१ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६१, मूल्य आम्दानी अनुपात रू. १३ दशमलव ५२, तरलता अनुपात ५२ दशमलव ५५ र प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ४२ छ । हालसम्ममा बैंकले १६ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बिहीवार बैंकको शेयरमूल्य अघिल्लो दिनको तुलनामा २ अंक घटेर रू. १४४ मा बन्द भएको छ । सो दिन बैंकको ८ हजार ८३७ कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ५० दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ९७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव १३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १४४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १४७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १३८ मा टेवा पाउने देखिन्छ ।