कामना सेवा विकास बैंक : कम्पनी विश्लेषण (आइतवार, १९ जेठ २०७६)
Jun 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको २०७५ चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकले रू. २१ करोड २१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७ प्रतिशत कम हो । सो अवधिमा बैंकले रू. २२ करोड ८१ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा बैंकको खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । हाल बैंकको चुक्तापूँजी रू. २ अर्ब ५० करोड छ । रिजर्भ कोषमा रू. १ अर्ब १२ करोड छुट्याएको छ । बिहीवार बैंकको शेयरमूल्य अघिल्लो दिनको तुलनामा १ अंक घटेर रू. १ सय ६४ बिन्दुमा बन्द भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ६८ दशमलव ४१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव शून्य ६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १६४ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १६५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १५५ मा टेवा पाउने देखिन्छ ।