लक्ष्मी बैंक : कम्पनी विश्लेषण (आइतवार, १९ जेठ २०७६)
Jun 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले शेयर स्वामित्व परिवर्तन गरेको छ । संस्थापकतर्फको ९ लाख ५ हजार ५१२ दशमलव ४५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको हो । शेयर परिवर्तनपश्चात् बैंकको शेयर स्वामित्व संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम भएको छ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९२ करोड ५ लाख ९ हजार छ । यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले रू. १ अर्ब २ करोड ९६ लाख ३३ हजार खुद नाफा गरेको छ । यो नाफा गत आवको यसै अवधिमा रू. ८६ करोड ११ लाख ९७ हजार थियो । गत आवको तुलनामा चालू आव बैंकको नाफा वृद्धि भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा रू. ७० करोड ५५ लाख ३६ हजार छ । प्रतिशेयर आम्दानी भने रू. १५ दशमलव ३९ छ । बिहीवार भएको शेयर कारोबारमा बैंकको शेयरमूल्य अघिल्लो दिनको भन्दा १ अंक बढेर अन्तिम मूल्य रू. २२५ कायम भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५३ दशमलव ४४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव शून्य ३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा माथि र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २२५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २३० मा प्रतिरोध पाउने र सस्तिएमा रू. २२० मा टेवा पाउने देखिन्छ ।