मिथिला लघुवित्त : कम्पनी विश्लेषण (आइतवार, १९ जेठ २०७६)
Jun 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले गत आवको नाफाबाट १० दशमलव ४५ प्रतिशत बोनस शेयर र ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको छ । चालू आवको ९ महीनामा कम्पनीले रू. १ करोड ४० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७८ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ७८ लाख ४७ हजार नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २५ प्रतिशत र सञ्चालन नाफा ८० प्रतिशत बढेकाले नाफा बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी रू. ४ करोड ११ लाख छ भने सञ्चालन मुनाफा रू. २ करोड १३ लाख छ । कम्पनीको चुक्तापूँजी रू. ६ करोड ५९ लाख छ । कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ६५ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी रू. २८ दशमलव ३०, मूल्य आम्दानी अनुपात १७ दशमलव १४, तरलता अनुपात ६ दशमलव ८४ र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ८९ छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन कालो इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४६ दशमलव २५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ११ दशमलव ७१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखालाई तलबाट काटेर थोरै माथि गई १४ दिने रेखासँग जोडिएको छ । बिहीवारको शेयरमूल्य रू. ४८० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ४८८ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ४६१ मा टेवा पाउने देखिन्छ ।