साना किसान विकास लघुवित्त : कम्पनी विश्लेषण (आइतवार, १९ जेठ २०७६)
Jun 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
गत आवको नाफाबाट २६ दशमलव ३१ प्रतिशत लाभांश दिएको साना किसान लघुवित्तले चालू आवको तेस्रो त्रैमाससम्म रू. ३४ करोड ५९ लाख नाफा कमाएको छ । कम्पनीले गत आवमा रू. २ करोड ७८ लाख नाफा कमाएको थियो । कम्पनीले नाफा गत आवको तुलनामा चालू आवमा २४ प्रतिशत बढाएको हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा २२ प्रतिशत र सञ्चालन मुनाफा ६ प्रतिशत बढेपछि नाफा बढेको हो ।
तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी रू. ६५ करोड ४० लाख छ भने सञ्चालन मुनाफा रू. ४५ करोड ३२ लाख छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव १५ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५८ दशमलव ६९ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २९४ दशमलव ९२ रहेको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । बिहीवार कम्पनीको शेयरमूल्य रू. १ हजार २० मा शुरू भई १ हजार ६० सम्म पुगेर अन्त्यमा १ हजारमा बन्द भएको छ । सो दिनको बजार नै शुरुआतमा उच्च बढेर अन्त्यमा ओरालो लागेकाले कम्पनीको शेयरमूल्य पनि त्यस्तै भएको छ ।
आरएसआई न्यूट्रल जोन ५६ दशमलव ४७ विन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव १६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीकिएका छन् ।