सिभिल बैंक : कम्पनी विश्लेषण (सोमवार, २० जेठ २०७६)
Jun 3, 2019
 
लगानी
कम्पनी विश्लेषण
गतवर्षको मुनाफाबाट बैंकले शेयरधनीका लागि १० दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिएको छ । हाल रू. ८ अर्ब ३३ लाख ९० हजार चुक्तापूँजी रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्म रू. ४९ करोड ३८ लाख ९२ हजार खुद नाफा आर्जन गरेको छ । गतवर्षको सोही अवधिमा बैंकले रू. ३३ करोड ५५ लाख ५ हजार खुद नाफा कमाएको थियो । तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा भने रू. २२ करोड ३० लाख ३३ हजार पुगेको छ । यस वर्ष रू. ३९ अर्ब ९२ करोड ७९ लाख ७२ हजार निक्षेप संकलन गरेको बैंकले रू. ४१ अर्ब ४१ करोड २० लाख २९ हजार कर्जा प्रवाह गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १७ पैसा छ । आइतवार बैंकको शेयरमूल्य अघिल्लो दिनको तुलनामा भन्दा दुई अंक घटेर रू. १४७ कायम भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा क्लोजिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३८ दशमलव ७८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ८९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखालाई माथिबाट काटेर तल गएको छ भने २६ दिने औसत मूल्यरेखाभन्दा पनि तल छ । आइतवारको शेयरमूल्य रू. १४७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १५५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १४६ मा टेवा पाउने देखिन्छ ।