नेपाल दूरसञ्चार कम्पनी : कम्पनी विश्लेषण (बुधवार, ११ वैशाख २०७६)
Jun 4, 2019
 
लगानी
कम्पनी विश्लेषण
गतवर्षको सञ्चित मुनाफाबाट शेयरधनीका लागि प्रतिशेयर रू. ५५ का दरले नगद लाभांश दिएको यस कम्पनीको चुक्तापूँजी हाल रू. १५ अर्ब छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा जगेडा कोषमा रू. ८६ अर्ब ४० करोड ८२ लाख ४२ हजार छुट्याएको छ । गतवर्षको तेस्रो त्रैमाससम्ममा रू. ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष सोही अवधिमा रू. ३२ अर्ब ४७ करोड ५८ लाख ८ हजार आम्दानी गरेको छ । कुल आम्दानीमा कमी आएसँग कम्पनीको नाफामा असर परेको छ । गतवर्ष रू. ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद नाफा आर्जन गरेको कम्पनीले यस वर्ष रू. ९ अर्ब ९८ करोड ३९ लाख २५ हजार मात्र खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ८८ रुपैयाँ ७५ पैसा छ । सोमवारको शेयर कारोबारमा कम्पनीको शेयरमूल्य अघिल्लो दिनभन्दा २ अंक घटेर रू. ७१५ कायम भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ ब्ल्याक मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव १२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव ६३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ७१५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७३१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ७०१ मा टेवा पाउने देखिन्छ ।