गण्डकी विकास बैंक : कम्पनी विश्लेषण (बुधवार, २२ जेठ २०७६)
Jun 5, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले चैत मसान्तसम्ममा रू. ३९ करोड ३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ३४ करोड ४ लाख नाफा कमाएको थियो । बैंकले चैत मसान्तसम्ममा रू. ७९ लाख ३८ हजार खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. २ अर्ब ७५ करोड रहेको बैंकले रिजर्भ कोषमा रू. १ अर्बभन्दा बढी छुट्याएको छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. १८ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ३६ दशमलव ६६ छ । हालसम्ममा बैंकले ७७ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको मंगलवार भएको शेयर कारोबारमा अन्तिम शेयरमूल्य रू. २१५ कायम भएको छ । यो मूल्य अघिल्लो दिनभन्दा ३ अंक बढी हो ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम ३ दिनमा सेतो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ३० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखासँग जोडिएको छ भने २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. २१५ देखि बजार अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २२० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २११ मा टेवा पाउने देखिन्छ ।