प्रिमियर इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, २२ जेठ २०७६)
Jun 5, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले पूँजीवृद्धिका लागि ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर र ४ दशमलव २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ४० लाख छ । प्रस्तावित बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी रू. १ अर्ब ५ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पु¥याउन निर्देशन दिएसँगै कम्पनीले पूँजीवृद्धिका लागि बोनस शेयर वितरण गर्न लागेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १५ करोड ३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १३ करोड ३५ लाख नाफा कमाएको थियो ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन इन्भर्टेड ह्याम्मर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ४५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २५ दशलमव २३ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. १ हजार १ सय २९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २ सय ४० प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ७६ मा टेवा पाउने देखिन्छ ।