सिभिल लघुवित्त : कम्पनी विश्लेषण (बिहीवार, २३ जेठ २०७६)
Jun 6, 2019
 
लगानी
कम्पनी विश्लेषण
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको ९ महीनामा रू. १ करोड १६ लाख ३५ हजार खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशत बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा ३३ प्रतिशत र सञ्चालन मुनाफा बढेपछि नाफा बढेको हो । कम्पनीले गत आवको नाफाबाट शेयरधनीहरूलाई ४ प्रतिशत बोनस दिएको छ । कम्पनीले चुक्तापूँजी रू. ११ करोड ४१ लाख १४ हजार पुर्याएको छ । निष्क्रिय कर्जा १ दशमलव २९ प्रतिशत रहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १३ दशमलव ५९ छ । हाल कम्पनीले एक केन्द्रीय र ४० ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पुस २९ गते सम्पन्न सभाले मर्जरमा जाने प्रस्ताव गरेको थियो । साथै, १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४६ दशमलव २२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ७० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । मंगलवारको शेयरमूल्य रू. ५५२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५७५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५४१ मा टेवा पाउने देखिन्छ ।