मेगा बैंक : कम्पनी विश्लेषण (बिहीवार, २३ जेठ २०७६)
Jun 6, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ६ दशमलव ८५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । चालू आवको तेस्रो त्रैमासमा बैंकले रू. १ अर्ब २१ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १ सय ३१ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ५२ करोड ४९ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । बैंकको चुक्तापूँजी रू. १० अर्ब ३८ करोड छ । चैत मसान्तसम्ममा बैंकले रू. ७५ अर्ब २१ करोड निक्षेप संकलन गरेको छ भने रू. ६७ अर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रू. १५ दशमलव ७९, मूल्य आम्दानी अनुपात १४ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव २० छ । मंगलवार बैंकको ६२ हजार ४३१ कित्ता शेयर खरीदविक्री भएको छ । सो दिन बैंकको शेयरमूल्य प्रतिकित्ता रू. २०२ कायम भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ६१ दशमलव ६८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ९५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य माथि छ । मंगलवारको शेयरमूल्य रू. २०२ देखि बजारका अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २०७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १८९ मा टेवा पाउने देखिन्छ ।