नेपाल धितोपत्र बोर्डको २७औं वार्षिकोत्सवको अवसरमा शेयर बजार सम्बद्ध सरोकारवालाहरूको विचार
Jun 7, 2019
 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
सुरवीर पौड्यालसेबोन, पूर्वअध्यक्ष(विसं.२०६५ पुस ९–विसं. २०६८ भदौ १०)
धितोपत्र बोर्डका कार्यहरूमा निरन्तर विकास भइरहेको छ । मेरो कार्यकालमा सीडीएससी (सीडीएस एन्ड क्लियरिङ) स्थापना भएको हो । अहिले यसले गर्दा लगानीको क्षेत्रमा निकै सहज वातावरण बनेको छ । यो लामो समयमा कार्य तथा संस्थागत संरचनामा पनि राम्रो विकास भइरहेको छ । म्युचुअल फन्डको संख्या पनि थपिएका छन् । पहिलेको भन्दा कर्मचारीको संख्यात्मक वृद्धि भइरहेको छ । तर सक्षम र विज्ञ जनशक्तिको आवश्यकता छ । बल्ल अन्य क्षेत्रका कम्पनीहरू आउन थालेका छन् । तर अहिले पनि शेयर बजारमा बैंक तथा वित्तीय संस्थाकै वर्चस्व छ । नैतिक इमानदारीको पाटोलाई पनि ध्यान दिनु जरुरी छ । नियामक निकायले बलियो नियम ल्याउनुका साथै लगानीकर्तालाई विश्वास दिलाउन सके लगानी बढ्न सक्छ ।
छोटेलाल रौनियारअध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम
नेपालको पूँजीबजारको विकास र विस्तारका लागि बोर्डले नियामक निकायको रूपमा आजका दिनसम्म आफ्नो भूमिका निर्वाह गरिरहेको छ । भोलिका दिनमा अझ बढी सक्रियताका साथ काम गर्न सकोस् । बोर्ड आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको हुँदा पूँजीबजारका आवश्यक पक्षलाई सम्बोधन तथा कार्यान्वयन गराउन मद्दत पुग्ने कार्यक्रम समेट्न आग्रह गर्दछु । साथै आम लगानीकर्ताको अभिभावक बनेर सधैं उनीहरूको हकहितका लागि काम गर्न सकोस्, हाम्रो संघको तर्फबाट बोर्डका सम्पूर्ण परिवारमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
हरि ढकालअध्यक्ष, शेयर लगानीकर्ता दबाब समूह
धितोपत्र बोर्डको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दछु । साथै आफ्नो लगानी असुरक्षित भयो भनी लगानीकर्ताहरू आगामी दिनमा आन्दोलित हुन नपर्ने आशा गर्दछु । दशौं वर्षसम्म बहसमा रहेको लागानीकर्ताका मुद्दाहरूमध्ये यो वर्ष केहीको सम्बोधन गर्न बोर्ड सफल भएकोमा लगानीकर्ताको तर्फबाट धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा पनि बोर्ड नेपालका आम लगानीकर्ताको हित र पूँजीबजारको विकास विस्तारका लागि काम गर्नेछ भन्ने आशा राख्दछु ।
संरक्षणा चौधरीअध्यक्ष, शेयर लगानीकर्ता दबाब समूह
नेपाल धितोपत्र बोर्ड (सेबोन)को वार्षिकोत्सवको अवसरमा म सम्पूर्ण लगानीकर्ताको तर्फबाट बधाई एवम् शुभकामना व्यक्त गर्दछु । विगतका दिनहरूमा धितोपत्र बोर्डबाट आमलगानीकर्ताको हकहितका लागि उल्लेख्य कार्य हुँदै आएको छ । आगामी दिनहरूमा पनि बोर्ड यसरी नै लगानीकर्ताको सहजतामा आफ्नो कार्यलाई निरन्तरता दिई अगाडि बढ्नेमा हामी विश्वस्त छौं ।
भरत रानाभाटअध्यक्ष, स्टक ब्रोकर एशोसिएशनअफ नेपाल
नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवको अवसरमा बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपालको पूँजीबजार विकासमा बोर्ड सम्बन्धित सबै पक्षलाई समेटेर अगाडि बढ्न, देशको आर्थिक समृद्धिको सपना पूरा गर्न, पूँजी बजार आर्थिक समृद्धिको माध्यम हो भन्ने कुरा सरकारलाई बुझाउन तथा अन्तरराष्ट्रियस्तरको पूँजीबजार अहिलेको आवश्यकता भन्ने मर्मलाई आत्मसात् गर्दै नेपालको पूँजीबजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । पूँजीबजारको विकासमा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल सदैव हातेमालो गर्दै अघि बढ्न तथा त्यसका लागि रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको जानकारी गराउँछु । कुनै एक पक्षले मात्र चाहेर मात्र देशको पूँजीबजारको विकास तथा विस्तार हुन नसक्ने हुँदा नेपाल धितोपत्र बोर्डले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । त्यसैले सम्बन्धित सबैलाई समेटेर बोर्डले नेपालको पूँजीबजारको विकास विस्तार गर्नेछ भन्ने विश्वास लिएको छु । आगामी दिन बोर्ड, पूँजीबजार, लगानीकर्ता लगायत सबैका लागि सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
राधा पोखरेलअध्यक्ष, नेपाल पूँजीबजारलगानीकर्ता संघ
बजारको विकास तथा सुधार गरी धितोपत्र बजारलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउन बोर्डबाट हालसालै धेरै किसिमका सुधारात्मक कार्य भएका छन् । बोर्डले केही समय अघिदेखि बजार सुधार र विकासका लागि विशेष रूपमा कार्य गर्दै आइरहेको सबैमा छर्लङ्ग छ । धितोपत्र बजारको विकास र विस्तारका लागि बोर्डले हालै मात्र देशका दूरदराजमा गएर जनचेतनामूलक सन्देश प्रवाह गरेको छ । यो पनि बोर्डले गरेको सुधारको उदाहरणीय काम हो । बोर्डको पहलमा गर्नुपर्ने अन्य महत्त्वपूर्ण कार्यलाई पनि आगामी दिनमा प्रभावकारी रूपमा सम्पन्न गर्न आग्रहसहित वार्षिकोत्सवको अवसरमा बोर्डलाई शुभकामना व्यक्त गर्दछु ।
ताराप्रसाद फुल्लेलउपाध्यक्ष, शेयर लगानीकर्ता संघ नेपाल
नेपाली पूँजीबजारको विकास तथा आधुनिकीकरणका लागि नेपाल धितोपत्र बोर्डले सीमित स्रोतसाधनको उच्चतम उपयोगबाट सम्भव भएसम्म बजारको नियमित अनुगमन तथा नियमन गरिरहेको सम्पूर्ण लगानीकर्ताको बुझाइ छ । प्रविधिमा भएको तीव्र विकासलाई अधिकतम प्रयोग गरी बजार विस्तार गर्न बोर्डका सामु अवसरका साथै चुनौती थपिँदै गएका छन् । आफ्नो सामु रहेका सम्भावनाको उचित उपयोग र चुनौतीको सामना गर्दै नेपाली पूँजीबजारको विकास तथा विस्तारका साथै विश्व परिवेश अनुरूप आधुनिकीकरणमा जानुको विकल्प छैन । कुनै पनि देशको आर्थिक वृद्धि त्यो देशको अर्थतन्त्रको पूँजी निर्माण गर्न सक्ने क्षमतामा भर पर्छ । अर्थतन्त्रको पूँजी निर्माण गर्ने स्थल पूँजीबजार नै भएको र पूँजीबजार जति गतिशील र विस्तारित हुन्छ, त्यति नै देशको आर्थिक वृद्धिका लागि आवश्यक दीर्घकालीन पूँजी परिचालनले पनि गति लिँदै जाने हुँदा यसतर्फ पनि बोर्डको ध्यान जानु जरुरी छ । नेपाल धितोपत्र बोर्ड यी कुरालाई आत्मसात् गर्दै अगाडि बढोस्, आगामी वर्षहरूमा बोर्डको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।