नेपाल धितोपत्र बोर्डमा विसं २०७२ कात्तिकबाट अध्यक्षको पद सम्हाल्दै आएका डा. रेवतबहादुर कार्कीको कार्यकाल आगामी कात्तिकमा सकिन्छ । प्रस्तुत छ, कार्कीसँग बोर्डका पछिल्ला उपलब्धि, पूँजीबजार विस्तारका चुनौती र अबको आवश्यकता लगायत विषयमा अभियान संवाददाता ममता थापाले गरेको कुराकानी :धितोपत्र बोर्ड २७औं वर्षमा प्रवेश गर्दासम्मका मुख्य उपलब्धि केकेलाई मान्नुहुन्छ ?
धितोपत्र बोर्डको मुख्य जिम्मेवारी तथा उद्देश्य बजारको विकास गर्ने, लगानीकर्ताको हित गर्ने र बजारलाई आधुनिक हिसाबले गतिशील बनाई यसको सुपरिवेक्षण र नियमन गर्ने हो । यसैभित्र रहेर बोर्डले शुरूदेखि काम गर्दै आएको छ । हालैका वर्षहरूमा नेपालको पूँजीबजारमा केही परिवर्तन भएका छन् । प्राथमिक बजार र दोस्रो बजार सहित धेरै सुधार गरियो । लगानीकर्ताका समस्या सम्बोधन गरियो । नेपालको बजारलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउन गर्नुपर्ने तयारी थालियो । नयाँनयाँ उपकरण भिœयाई दोस्रो बजारलाई आधुनिकरण गर्ने काम भयो । बोर्डकै संस्थागत क्षमता अभिवृद्धि लगायत काम गरेका छौं । केही अघिसम्म प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताको घुइँचो लाग्ने गथ्र्योे, अहिले यो समाधान भयो । आस्बा प्रणाली मार्फत नेपालभर नै सुविधा पुगेको छ र जनताले त्यसको प्रयोग समेत गर्न थालिसकेका छन् । आईपीओदेखि कारोबारसम्म आइपुग्दा ६ महीना लाग्थ्यो । यसलाई घटाएर ४० दिनमा झारिएको छ । यसले गर्दा लगानीकर्ताको लागत घट्यो । साथै प्राथमिक बजारमा प्रत्येक निवेदकले १० कित्ता शेयर पाउने व्यवस्थाले बजार विस्तार भएको छ ।
बोर्डको अध्यक्षका रूपमा तपाईंको कार्यकाल पनि सकिनै लागेको छ । आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ र अब जाँदाजाँदै पूँजीबजारलाई कुन उचाइ पुर्याउँदै हुनुहुन्छ ?
हालसम्म प्राथमिक बजार र दोस्रो बजारलाई सुधार गर्न काम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सीईओ हुँदा शुरू गरेको काम सेबोनमा आएर पूरा भएको छ । नेप्सेको नेतृत्व गर्दा विसं २०६४ मा ‘ओपन आउटक्राई’ सिस्टमलाई हटाएर ट्रेडिङ अटोमेशन थाल्न सकेँ । नामसारी र क्लियरिङमा ‘टी प्लस थ्री’ व्यवस्थाको वास्तविक रूपमा कार्यान्वयन भएको छ । बजारको गहिराइ (मार्केट डेब्थ) अन्तरराष्ट्रिय रूपमै हेर्न सकिने व्यवस्था भएको छ । नियमन निकाय भएकाले दोस्रो बजार सुधारका लागि नेप्सेलाई निर्देशन दिइरहेका छौं । सबैको सहयोगमा पूँजीबजार सुधार गर्न सफल भएको जस्तो लाग्छ । तर, अझै इन्स्टिच्युट स्थापना गर्ने लगायत २–३ ओटा काम गर्न बाँकी छ ।
आर्थिक वर्ष २०७६/७७ को संघीय बजेटले पूँजीबजारलाई सहयोग गर्ने केही व्यवस्था गरेको देखियो । अझै पूँजीबजारलाई विस्तार गर्न बोर्डको भूमिका कस्तो रहला ?
वास्तवमा पूँजीबजारलाई नेपाल सरकारले हेर्ने दृष्टिकोण सकारात्मक देखिएको छ । गतवर्ष हाम्रो सुझाव अनुसार सरकारले धेरै कार्यक्रम समेटेको थियो । आगामी आवको बजेटले पूँजीगत लाभकरलाई घटाएर ५ प्रतिशतमा झार्यो । यस्तै, हाम्रो सुझाव अनुसार १ अर्बभन्दा बढी पूँजी भएका पब्लिक कम्पनीले आईपीओ जारी गर्नैपर्ने लगायते व्यवस्था समेत भयो । हामीले वास्तविक क्षेत्र (रियल सेक्टर) लाई पूँजी बजारमा ल्याउन प्याकेज नै बनाएर काम गर्यौं । आईपीओ १० प्रतिशत मात्र पनि सार्वजनिक गर्न पाउने व्यवस्था भयो । साथै उत्पादनशील कम्पनीहरूले आईपीओ जारी गर्दा निश्चित १ सय रुपैयाँ नै राख्नुपर्ने व्यवस्थामा परिवर्तन गरेर अहिले प्रिमियम थप गर्न पाउने व्यवस्था पनि भएको छ । यसैको आधारमा शिवम् सिमेन्टले आईपीओ जारी गरेको थियो । आगामी वर्षदेखि अन्तरराष्ट्रिय अभ्यासमा रहेको ‘बुक बिल्डिङ’ प्रणाली अर्थात् ओपन प्राइसिङ सिस्टम पनि अपनाउने योजनामा छौं । अहिले नै केही क्याप सहित यसलाई शुरू पनि गरिसकेका छौं । यो प्रणाली वैज्ञानिक भएकाले धेरै राम्रो छ । हामीले ट्रस्टी ऐनको सुझाव गरेका थियौं । यसै अनुसार बजारमा यसबारे उल्लेख छ । यो ऐन म्युचुअल फन्ड, सीडीएसका लागि महत्त्वपूर्ण हुन्छ । खासगरी पूँजीबजारको स्थायित्व र दीर्घकालीन विकासका लागि यो ऐन महŒवपूर्ण छ । यो ऐनको मस्यौदा करीब ६–७ महीनामा बनाइसक्छौं । मार्केट डेब्थ पनि धितोपत्र बजारको महत्त्वपूर्ण भाग हो । यो अझै विकास हुन सकेको छैन । यसका लागि समस्या छ । ऋणपत्रको ब्याजमा लाग्ने डिफरेन्सियल करको समस्या छ । यस्तै, बोनस र हकप्रदको शेयर भने भारित औसत लागतको आधारमा कर गणना गर्ने भएको छ । यसरी धेरै काम गरिसकेका छौं । अब अरू पनि गर्दै जान्छौं ।
धितोपत्र बोर्डको नियमन क्षमता तथा विश्वसनीयताबारे समेत बेलाबेलामा कुरा उठ्ने गरेको छ । यसलाई बोर्डले कत्तिको मनन गरेको छ ? पछिल्लो समय धितोपत्र दलाल व्यवसायी र बोर्डबीच आरोप प्रत्यारोपको अवस्था पनि देखियो । खासमा समस्या चाहिँ के हो ?
नियमन निकाय सुतेर बस्यो भने सबैले बडा राम्रो मान्ने गरेको देखियो । सामान्यतया जो बजार सहभागीहरू हुन्, उनीहरूले गरेको काममा बोर्डले कारबाही नगरिदेओस् भन्ने मनसाय हुन्छ । तर, सरकारले नियमन निकाय भनेर तोकेपछि बोर्डले त साँच्चै काम गर्नुप¥यो । यस हिसाबले हामीले धेरै सुधार गरेका छौं । त्यो सुधारले गर्दा कतिपयलाई अप्ठ्यारो परेको छ । यसै क्रममा धितोपत्र व्यवसायी र हामीबीच सानातिना समस्या देखिएको मात्र हो । बजार सुधारका लागि नियमन निकायले मात्र काम गर्ने भन्ने होइन । यसमा बजारमा सहभागी सबैले सहयोग गरे मात्र सफलता प्राप्त हुन्छ । कतिपय अवस्थामा हामीले सुपरिवेक्षण गरेर कारबाहीको दायरामा पनि ल्याएका छौं । आईपीओ भर्न लगानीकर्ताले घन्टौं लाइन बस्ने, बोराका बोरा एप्लिकेशन उठाउनुपर्ने जस्ता समस्या समाधान भएका छन् । यसले केहीलाई त अप्ठ्यारो परेको छ । ब्रोकरको सन्दर्भमा भन्नुपर्दा म स्टक एक्सचेन्जमा हुँदा त्यस बेला एडीबीको प्रोजेक्ट अन्तर्गत काम भइरहेको थियो । ब्रोकरहरूले नेप्सेमा नै आएर ५० ओटा कम्प्युटरमा काम गर्नुपथ्र्यो । यो त्यतिखेर लोकल एरिया नेटवर्कमा थियो । मैले वाइड एरिया नेटवर्कको विकास गरेर ३ महीनामै उनीहरू आफ्नै अफिसमा बसेर काम गर्न सक्ने सुविधा दिएको थिएँ । यस क्रममा सबै व्यवसायीले आफ््नो सेवालाई स्तरीय र प्रतिस्पर्धी बनाउनुपर्छ । लगानीकर्ताको सुविधा बढ्नुपर्छ भन्ने हिसाबले बोर्डले काम गर्दै आएको छ । उनीहरूको पूँजीलाई त्यही अनुसारले वृद्धि गर्न लगाइएको छ र पूर्वाधार विकासमा जोड दिइएको छ । विसं २०७२ माघबाट अटोमेशनमा गएपछि दैनिक कारोबार २ अर्ब रुपैयाँ समेत नाघेको थियो । यसअघि बढीमा १०–२० करोड रुपैयाँको मात्र कारोबार हुन्थ्यो । अब ब्रोकर तथा धितोपत्र व्यवसायीको क्षमता पनि अभिवृद्धि भएको छ । पोहोर सालको बजेटबाट ब्रोकरलाई लाग्ने भ्याट हाम्रो सुझावमा हटाइयो । यसपछि उनीहरू वित्तीय मध्यस्थकर्ताका रूपमा छन् । अब मार्जिन ट्रेडिङ ब्रोकर मार्पmत हुनुपर्छ भनियो । अब यो पनि छिटै शुरू हुन्छ । यसले तिनीहरूको कार्यक्षेत्र बढ्छ । संशोधन प्रक्रियामा रहेको धितोपत्र ऐनमा ब्रोकरलाई डिलरको काम र एड्भाइजरी सेवा दिने व्यवस्था थप गर्न लागिएको छ ।
बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रममा कस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने योजना बनाएको छ ?
२०७४/७५ बाट नीति तथा कार्यक्रम बनाउन शुरू गरेका हौं, पहिले थिएन । हामी पहिले बोर्ड आफैमा अनुशासित हुनुपर्छ भन्ने हिसाबले काम गर्दै छौं । लगानीकर्ताले पनि थाहा पाउनुप¥यो, बोर्डले यस वर्ष के गर्दै छ । यस्ता कुरा नै नीति तथा कार्यक्रममा राखेका छौं । यही अनुसार नै यहाँ काम भइरहेको छ । हामी अन्तरक्रिया गरी नीति तथा कार्यक्रम बनाउँछौं । अहिले राखेका कुरा सकभर यसमै पर्छन् । ओपन प्राइसिङ सिस्टम अर्थात् बुक बिल्डिङको अहिले अध्ययन भइरहेको छ । आगामी वर्षदेखि त्यस अनुसार प्रयोगात्मक हिसाबमा जाने योजना छ । एकातिर फिक्स प्राइसिङ सिस्टम हुन्छ, अर्काेतिर बुक बिल्डिङ प्रोसेस । यो एक किसिमको उत्कृष्ट बिल्डिङ हो । तर, त्यो सरकारले एनटीसीको शेयर बेच्दा गरेको बिल्डिङ जस्तो हुँदैन । यसमा प्राइसको न्यूनतम मूल्यांकन हुन्छ । यो अन्तरराष्ट्रिय स्तरको उत्कृष्ट अभ्यास हो ।
यो सफल होला त ?
सफल नहुने गरेर त हामी गर्दै गर्दैनौं नि । आस्बा प्रणाली लागू गर्दा यो असफल हुन्छ भन्दै केहीले असफल बनाउने प्रयास पनि गरे । त्यही चीज भारतमा सन् २००८ मा लागू गरेर २०१६ मा मात्र अनिवार्य भयो । तर हामीले ६ महीनामै त्यसलाई सफल बनाउन सक्यौं । र आस्बामा नै एउटा सफ्टवेयर बनाएर सी–आस्बा पनि बनाएको हो । त्यो प्रयोग हामीले पहिल्यै गरिसकेका छौं । यो त सफल हुन्छ । त्यसको तरीकाहरू पनि छन् नि त । हामीलाई त्यो अनुभव छ । त्यसले गर्दा बिडिङमा जानेबित्तिकै १०० को ६ सय र २५ सय पुग्छ भन्ने होइन । यो रिजनेबल एन्ड बेस्ट प्राक्टिक्स हो र त्यो तपाईंको इच्छाअनुसार पनि हो । यसको सफल कार्यान्वयन भयो भने एफपीओमा पनि हामी बुक बिल्डिङ प्रोसेसमा जानुपर्ने बनाउनेतिर जान्छौं । हुन त अहिले एफपीओलाई निरुत्साहन गरेका छौं । अहिले एकपटक एफपीओ निकालेपछि ५ वर्षसम्म नपाउने व्यवस्था गरिएको छ । पहिले त एफपीओ प्रत्येक वर्ष गर्न पाउने थियो ।
देशको प्रणाली संघीय संरचनामा गइसकेको परिप्रेक्ष्यमा धितोपत्र बोर्ड पनि संघीय ढाँचामै जाँदै छ कि ?
संघीयताको आधारभूत सिद्धान्तअनुसार रक्षा, परराष्ट्र, बीमा, बैंक, पूँजीबजार संघीय सरकारअन्तर्गत पर्दछन् । तर पूँजीबजार नेपालभरि विस्तार भइसकेको र दोस्रो बजार काठमाडौंबाहिर विस्तार हुँदै गएकाले सुपरिवेक्षण गर्ने हाम्रो क्षमताअनुसार विस्तारै प्रादेशिक कार्यालय स्थापना गरेर जाने योजना छ । बोर्डलाई पुनःसंरचनामा लैजाने पनि हाम्रो सोच छ । अहिले गृहकार्य गरिरहेका छौं । अन्तरक्रिया पनि गरेर अगाडि बढ्छौं ।
गतवर्ष नीति तथा कार्यक्रममा समेटिएका बुँदाहरूको कार्यान्वयनको अवस्था कस्तो छ ?
यसपटक नयाँ प्रडक्टका रूपमा भेन्चर क्यापिटल, हेजफन्ड, प्राइभेट इक्विटी लगायत विषय बजेटमा समेटिएका थिए । नेपालको पूँजी बजारमा वैकल्पिक लगानी कोषको नियमावली ल्याइसकिएको छ । यसले नयाँ आयाम थप गर्छ । यसको उद्देश्य बाहिरबाट र देश भित्रबाटै फन्ड परिचालन गर्नु पनि हो । न्यून नियमनको अवधारणाअनुसार यसलाई अगाडि बढाउँछौं ।
यसबाहेक ‘ओपन एन्डेड’ म्युचुअल फन्ड स्कीम अहिलेसम्म हुन सकेको थिएन । यो विषयवस्तुलाई यसपटकको कार्यक्रममा राखेका थियौं । अरू पनि ३–४ ओटा ‘ओपन एन्डेड’ स्किम आउने क्रममा छन् । गत आइतवारदेखि यस्तो एउटा स्कीम लगानीकर्ताका लागि खुला गरिएको छ । अहिले हामीले प्रयोगात्मक हिसाबमा दिएका छौं । त्यसमा थप कानूनी सुधारहरू गर्दै गएर त्यसलाई अगाडि बढाउँछौं । यो लगानीकर्ताका लागि अर्काे राम्रो प्रडक्ट हो । ब्रोकरको सहायताविना नै उनीहरूले यो स्कीमका एकाइहरू जहिले पनि किन्न, जहिले पनि बेच्न सक्छन् । सबै ओपन एन्डेड । यो प्राथमिक र दोस्रो दुवै बजारका लागि सहज छ । दक्षिण एशियामा नेपाल लगायत सीमित देशमा मात्र यसको व्यवस्था छ । यसका अलावा अन्य विषयवस्तु पनि कार्यान्वयन भइसकेका छन् । हामीले साक्षरता कार्यक्रम पनि धेरै ग¥यौं र अब छिट्टै ओईसीडीसँग मिलेर अन्तरराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन गर्दै छौं ।
प्रदेशमा पनि पहिलोपटक यस्तो कार्यक्रम गरियो । साथै, प्रदेश न २ र ६ का पत्रकारहरूलाई पनि आर्थिक तथा पूँजीबजार सम्बन्धी तालीम प्रदान गरियो । आगामी दिनमा अन्य प्रदेशमा पनि जान्छौं । साथै अन्य यस्ता प्रशिक्षण सम्मेलन गरी वित्तीय साक्षरता अभिवृद्धि गर्छौं ।
स्थानीय सरकारहरूका लागि स्थानीय ऋणपत्र जारी गर्न जोड दिएका छौं । यस विषयमा अहिले अध्ययन गर्ने भनेको छ । त्यसमा केही कानूनी व्यवस्थाहरू भने सरकारले गर्नुपर्छ । जस्तै– वित्त आयोगले ऐन ड्राफ्ट गर्दै छ, त्यसमा उनीहरूले स्थानीय निकायले ऋणपत्र जारी गर्न पाउने व्यवस्था गर्दै छ । स्थानीय निकायहरूको क्रेडिट रेटिङ गरेर गर्न यस्तो पाउने व्यवस्था हुँदै छ । यसले त्यहीँको पूँजी त्यहीँ परिचालन गर्न पाइन्छ । त्यसमा अध्ययन भइरहेको छ । हामीले प्रचार प्रसार पनि गर्दै गएका छौं । त्यही क्रममा हामीले नगर विकास कोषबाट ऋण दिँदा पनि सम्बन्धित नगरपालिकाको क्रेडिट रेटिङ गरेर दिने व्यवस्था पनि नगर विकास कोषबाट गराउँदै छौं ।
अहिले देशकै क्रेडिट रेटिङ गर्ने काम भइरहेको छ । सरकारले बाहिर गएर ऋण ल्याउन भनेको छ, तर बाहिरका ऋणदाताले हाम्रो देशको रेटिङ कस्तो छ भनेर खोजिरहेका छन् । त्यसैले देशको ‘सोभरेन’ रेटिङ गर्न खोजेको हो । त्यसपछि धेरै बैंकले बाहिरबाट ऋण लिएर आउन सक्छन् । यो महत्त्वपूर्ण हो । तर अहिलेसम्म हुन सकेको छैन । लगानी सम्मेलनमा पनि देशकै रेटिङ खोइ भन्ने कुरा उठेको थियो । त्यसमा राजस्व सचिवको संयोजकत्वमा मसहित ५–६ जनाको समिति छ । यस्तो कार्य हामीले लगानी सम्मेलनभन्दा अघिदेखि नै शुरू गरेका हौं, शायद फागुनतिरै । हामी चाहिँ चाँडै ल्याउन सकिन्छ कि भन्ने सोचेका छौं । सामान्यतया ६ महीना लाग्छ ।
बोर्डले विगतदेखि नै वित्तीय साक्षरताको अभिवृद्धि तथा लगानीकर्ता प्रशिक्षण सम्बन्धी देशव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट के कस्ता उपलब्धि हासिल भएका छन् ? यसलाई थप व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने सम्बन्धमा बोर्डको नीति तथा कार्यक्रम के छ ?
यो वास्तवमा महत्त्वपूर्ण कुरा हो । साधारणतया यसमा तीन कुरा पर्छ । पहिलो त बैंकिङ साक्षरता, त्यसपछि पूँजीबजार साक्षरता र बीमा साक्षरता । साथै फाइनान्स, सहकारीसहित वित्तिय गतिविधिहरू साक्षरता कार्यक्रममा पर्दछन् । धेरै मानिस विभिन्न क्षेत्रमा साक्षर भए पनि वित्तीय साक्षरताबारे कमैलाई ज्ञान छ । मलाई लाग्छ, यस विषयमा ज्ञान हुनेहरू १० प्रतिशतभन्दा बढी छैनन् । यही सन्दर्भमा हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौं । जस्तै– ७२ जिल्लामा पुुगेर वित्तीय साक्षरताका शिक्षाहरू बाँड्ने अभियानमा काम भएका छन् । ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई पनि अघि बढाइराखेको अवस्थामा छौं । यो हिसाबकै कुरा गर्न पर्दा म पूर्वी रुकुममा पनि पुगेर आएको छु । र अब कालीकोटबाहेक कर्णालीका चार जिल्ला र मुस्ताङ जिल्ला बाँकी छन् । पूँजीबजारको बारेमा विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समेत राख्न लागेका छौं । आगामी समय पत्रकार लगायत लागि तालीम वा प्रशिक्षक प्रशिक्षण (टीओटी) गरेर साक्षरता कार्यक्रम ल्याउने योजना छ । त्यही टीओटीमार्फत मानिसलाई तालीम दिएर सोही व्यक्तिलाई विभिन्न क्षेत्रमा फैलाएर शिक्षा दिने योजना गर्दै छौं । साथै यही वर्ष पूँजीबजार साक्षरता भन्ने किताब पनि प्रकाशन गरेका छौं । योसँगै रेडियो कार्यक्रमहरू र लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रमबाट पनि हामीले पूँजीबजारको बारे शिक्षा दिँदै आएका छौं । साथै गत भदौदेखि बोर्डमै पनि हामी प्रत्येक २ हप्ताको फरकमा शुक्रवार २ देखि ४ बजे प्रशिक्षण पनि दिँदै आएका छौं । यसरी विभिन्न क्रमबद्ध योजनामार्फत हामी जनचेतना ल्याइरहेका छौं । तर यसका लागि लगानीकर्ता आफै पनि यस विषयमा सिक्ने बुझ्ने लगाव हुनुपर्छ ।
पछिल्लो समय अनलाइन ट्रेडिङबारे लगानीकर्ताको असन्तुष्टि देखिएको थियो । लगानीकर्ताले केही क्षति पनि बेहोर्नुपर्यो । यसको सुधारमा बोर्डको भूमिका के रह्यो ? यो प्रणाली अन्तरराष्ट्रिय स्तर तथा विश्वसनीय र भरपर्दो बनाउन अझै कस्तो सुधार हुनुपर्ला ?
एक त स्टक एक्सचेन्ज पूर्ण सरकारी हो । त्यसमा पनि ‘फ्रन्ट लाइन’ रेगुलेटर समेत हो । नेप्सेको नियमित व्यवसाय सञ्चालन सम्बन्धी काममा बोर्डको स्वीकृति लिन आवश्यक छैन । पहिला नेप्सेमा नेतृत्व गर्दा मैले ट्रेडिङ अटोमेशन ल्याउने क्रममा इन्टरनेशनल कम्प्याटिबल टेस्टिङ सिस्टम भित्र्याइएको हो । अहिले उनीहरू स्थानीय सप्mटवेयरको हिसाबमा अगाडि बढेका छन् । शुरूमा यस्ता समस्या देखिएका हुन् । यस क्रममा बोर्डले उपकार्यकारी निर्देशकको संयोजकत्वमा ४–५ जनाको समूह बनाएर यसबारे देखिएका समस्या र अब कसरी अगाडि बढ्ने भन्नेबारे रिपोर्ट तयार पारेर नेप्सेमा पठाएका छौं । अनलाइन ट्रेडिङमा देखापरेका समस्या छिटो समाधान गरी सहज बनाउन बोर्डले निर्देशन दिएको छ । पहिलाको भन्दा केही सुधार हुँदै गएको छ । तर, अझै पनि सुधार गर्नुपर्ने देखिएको छ ।
तपाईं बोर्ड अध्यक्षको कार्यकालको अन्त्यतिर हुनुहुन्छ । बोर्डको आगामी नेतृत्वलाई के कस्ता सुझाव तथा मार्गनिर्देश गर्न चाहनुहुन्छ ?
आगामी नेतृत्वले विभिन्न नियामक निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ । सुधार कहिल्यै पनि अन्त्य हुँदैन, यो निरन्तर प्रक्रिया हो । क्रस बोर्डर ट्रेडिङ र लिस्टिङ गर्ने कार्य चुनौतीपूर्ण छ । हार्मेनाइजेशन अफ रेगुलेशन गर्ने तथा नियमनकर्ता सहित बजार सहभागीको क्षमता अभिवृद्धि गराउने चुनौती छन् । दोस्रो बजार अनलाइन प्रणालीको अटोमेटेड सर्भेलेन्स गर्ने तथा बजार सहभागीहरूको जोखिममा आधारित सुपरिवेक्षण गर्ने चुनौती पनि त्यत्तिकै छन् । नेप्से र सीडीएससीको निजीकरण गरी प्रतिस्पर्धात्मक बनाउने चुनौती पनि छ । पूँजीबजारमा अझै पनि यस्तै यस्तै चुनौति छन् । तिनलाई समाधान गरी बजारलाई पारदर्शी र अत्याधुनिक बनाउँदै लैजाने चुनौती पनि त्यत्तिकै छ । बोर्डको आगामी नेतृत्वलाई यस्तै यस्तै सुझावहरू दिन चाहन्छु ।