नेरुडे लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, २७ जेठ २०७६)
Jun 10, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ७ करोड ९७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ११३ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३ करोड ७२ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले ५ दशमलव ७९ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर वितरण गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३४ करोड ५७ लाख छ । रिजर्भ कोषमा रू. ४५ करोड ४७ लाख छुट्याएको छ । कम्पनीले ३० ओटा जिल्लामा ८४ ओटा शाखा तथा उपशाखा कार्यालयबाट १ लाख ३३ हजार ४४ विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ५०४ कायम भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ४ अंक कम हो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव १७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ७१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्यरेखा तल छ । बिहीवारको शेयरमूल्य रू. ५०४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५१६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४९५ मा टेवा पाउने देखिन्छ ।