१२७५.८२ विन्दुमा नेप्से परिसूचक : ८ .७८ अंक घट्यो नेप्से
Jun 10, 2019
 
समाचार
लगानी
नेप्से विश्लेषण
जेठ २७, काठमाडौं(अस) । सोमवार नेप्से परिसूचक ८ दशमलव ७८ अंकले घटेर बन्द भएको छ । यस दिन पनि लगानीकर्ताहरुले प्रफिट बुकिङ गर्न तर्फ लागेपछि गत हप्ताको आइतबार देखि शेयर बजार घटेको हो ।
यस दिन १ हजार २ सय ७८ दशमलव २८ विन्दुबाट शुरु भएको शेयर बजार कारोबारको पहिलो एक घण्टाको अवधिसम्म बढेर १ हजार २८९ दशमलव ५४ विन्दुसम्म पुगेको थियो ।
सो विन्दु पश्चात निरन्तर ओरालो लागेको नेप्से परिसुचक दोस्रो घण्टा पश्चात घटबढ हुदैं अन्त्यमा १ हजार २७५ दशमलव ८२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचकसँगै कारोबार रकममा पनि कमि देखिएको छ ।
कारोबार अवधिभर कारोबारमा आएका ११ समूहमध्ये ३ समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस दिन नेप्से परिसूचक शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।
सोमवारको कारोबार
सोमवार रू. ६१ करोड ३ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिनका कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ दशमलव ६५ प्रतिशत बढी हो । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ४३ अंक घटेर २७२ दशमलव ४६ विन्दुमा बन्द भएको छ ।
११ समूहको परिसूचक, कुनको बढ्यो कुनको घट्यो ?
कारोबार भएका १७३ कम्पनीमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै, २० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । वल्र्ड मर्चेन्ट बैंकङ्ग एण्ड फाइनान्सको शेयर मूल्य ७ दशमलव ६१ प्रतिशत बढेर बन्द भएको छ । कम्पनीको शेयर मूल्य रू. ७ ले बढेर प्रतिकित्ता रू. ९९ मा कारोबार भएको हो ।
साथै, गत वर्षको मुनाफाबाट लाभांशमा लाग्ने कर सहित प्रतिशेयर रू. ६८ दशमलव ४२ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हिमालयन डिस्टीलरीको शेयर मूल्यमा ४ दशमलव ९६ र गणपति माइक्रोफाइनान्सको ४ दशमलव ६४ प्रतिशतले बढेको छ । तारागाँउ रिजेन्सी होटलको शेयर मूल्यमा भने ७ दशमलव ३३ प्रतिशतले घटेर रू. ३०३ मा सिमित रहेको छ ।
सोमवारको कारोबारमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको प्रतिकित्ता रू. ४ सय ५१ मा रू. ४ करोड १८ लाख बराबरको शेयर कारोबार भएको हो । साथै, शिवम् सिमेन्ट्सको प्रति कित्ता रू. ६७१ मा रू. ३ करोड ९० लाख र सिद्धार्थ बैंकको अन्तिम शेयर प्रतिकित्ता रू. ३ २५ मा खरीद विक्री भई रू. ३ करोड ३ लाखको शेयर कारोबार भएको छ ।