हिमालयन डिष्टिलरी : कम्पनी विश्लेषण (मंगलवार, २८ जेठ २०७६)
Jun 11, 2019
 
लगानी
कम्पनी विश्लेषण
उत्पादनमूलक कम्पनीको सूचीमा दोस्रो बजारमा सूचीकृत यस कम्पनीले सञ्चित नाफामा रहेको रकमबाट कम्पनीका शेयरधनीलाई ६८ दशमलव ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । चालू आव समाप्त नहुँदै कम्पनीले लगानीकर्ताका लागि अन्तरिम लाभांशको घोषणा गरेको हो । उक्त लाभांश भने जेठ १७ गतेसम्म कायम शेयरसदस्यले मात्र पाउनेछन् । यसअघि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताका लागि करसहित २१ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिएको थियो । हाल रू. ३८ करोड ५६ लाख ४५ करोड चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोषमा चैत मसान्तसम्म रू. ७३ करोड ६१ लाख ४२ हजार छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म वस्तु विक्रीबाट रू. १ अर्ब ७२ करोड ५७ लाख ३६ हजार आम्दानी गरेको यस कम्पनीले सोही अवधिमा रू. ३२ करोड ७१ लाख ३९ हजार खुद नाफा गरेको छ ।
कम्पनीको ५६ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ३२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ३३ दशमलव ५६ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखाले माथिदेखि काटेर तल झरेको छ । सोमवारको शेयरमूल्य रू. १ हजार ७३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ७५५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ६५२ मा टेवा पाउने देखिन्छ ।