आशा लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, २९ जेठ २०७६)
Jun 12, 2019
 
लगानी
कम्पनी विश्लेषण
आशा लघुवित्त कम्पनीले ६ लाख २९ हजार ९३० कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेपछि दोस्रो बजारमा कारोबार भएको छ । कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म आईपीओ जारी गरेको थियो । वित्तीय पहुँच अभिवृद्धि गराई न्यून आय भएका तथा पिछडिएका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले कम्पनी स्थापना भएको हो । हालसम्म कम्पनीले ४५ ओटा कार्यालयमार्फत सातैओटा प्रदेशमा २८ जिल्लाभित्र ४२ हजारभन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा दिँदै आएको छ । कम्पनीले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघु उद्यम व्यवसाय सञ्चानलका लागि महिलाहरूलाई विशेष प्राथमिकता दिने गरेको छ । कम्पनीले चैत मसान्तसम्ममा रू. १ करोड ४५ लाख नाफा कमाएको छ । सञ्चालन नाफामा सुधार आएकाले नाफामा वृद्धि भएको हो । कम्पनी रू. ६२ लाख ४ हजार खराब कर्जा उठाउन सफल भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ३६ दशमलव १० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव ८२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत रेखा एकअर्कासँग टाढिएका छन् । कम्पनीको औसत मूल्यरेखा २६ दिने र एकदिने हालको मूल्यरेखा एकआपसमा जोडिएका छन् । हालको मूल्य १४ दिने मूल्यरेखा र २६ दिने मूल्यरेखा दुवैभन्दा माथि छ ।