कालिका पावर कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, ३० जेठ २०७६)
Jun 13, 2019
 
लगानी
कम्पनी विश्लेषण
यस कम्पनीले गोरखा जिल्लामा दरौंदी खोलाबाट ६ हजार किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी २०७३ साल मङ्सिर १२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल जारी पूँजी रू. ६० करोडबराबरको शेयर संस्थापक र सर्वसाधारणबाट चुक्ता भइसकेको छ । शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत, सर्वसाधारणमा २० प्रतिशत र उद्योग प्रभावित स्थानीयका लागि १० प्रतिशत कायम भएको छ । कम्पनीले यस आर्थिक वर्षको ९ महीनामा रू. २ करोड ३३ लाख १८ हजार नाफा आर्जन गरेको छ । जगेडा कोषमा रू. ८१ लाख ७० हजार रहेको कम्पनीले विद्युत् विक्रीबाट रू. १३ करोड ६२ लाख ८६ हजार आम्दानी गरेको छ । कम्पनीले यस वर्ष सर्वसाधारणलाई समेत समेटेर सञ्चालक समिति गठन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ५ दशमलव १८ छ । दोस्रो बजारमा बुधवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनभन्दा १ अंक बढेर रू. ९५ कायम भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ९० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ९४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९१ मा टेवा पाउने देखिन्छ ।