बेष्ट फाइनान्स : कम्पनी विश्लेषण (शुक्रवार, ३१ जेठ २०७६)
Jun 14, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ७ करोड ७३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १२३ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३ करोड ४६ लाख नाफा कमाएको थियो । तेस्रो त्रैमासमा कम्पनीले रू. ९ करोड ४६ लाख खराब कर्जा उठाएकाले नाफा बढेको हो । चैत मसान्तसम्ममा कम्पनीले रू. २ अर्ब २८ करोड निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको चुक्तापूँजी रू. ८१ करोड छ । हकप्रद शेयर जारी गरेपछि पूँजीवृद्धि भएको हो । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ५४, मूल्य आम्दानी अनुपात १० दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू. ८७ दशमलव शून्य ४ छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. १०७ कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ४१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १०७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ११० मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १०५ मा टेवा पाउने देखिन्छ ।