कर्णाली डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (आइतवार, १ असार २०७६)
Jun 16, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको चैत मसान्तसम्ममा बैंकले रू. ६६ लाख ५९ हजार नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा साढे ५ गुणा वृद्धि भएको हो । सो अवधिमा बैंकले रू. ११ लाख ९५ हजार नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा बैंकले रू. २ अर्ब ९८ करोड निक्षेप संकलन गरेको छ भने रू. १ अर्ब ९४ करोड कर्जा प्रवाह भएको छ । बैंकको चुक्तापूँजी रू. ५० करोड २८ लाख छ । रिजर्भ कोषमा रू. ५ करोड १६ लाख छुट्ट्याएको छ । प्रतिशेयर आम्दानी रू. १ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ रू. १ सय १० दशमलव २७ छ । हालसम्ममा बैंकले १५ शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बिहीवारको शेयरमूल्य रू. ११८ कायम भएको छ ।
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने र घट्नेमा अन्योल देखाउँछ । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । यो अवस्थामा लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्था सृजना भएको छ । आरएसआई न्यूट्रल जोन ५६ दशमलव ५२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ३८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ ।