सिद्धार्थ बैंक : कम्पनी विश्लेषण (आइतवार, १ असार २०७६)
Jun 16, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न सेबोनमा निवेदन दिएको छ । बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ २० गते निवेदन दिएको हो । १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता व्यक्तिगत संघसंस्थाका लागि निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५९ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब ३८ करोड नाफा कमाएको थियो । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा रू. ८९ करोड ५३ लाख छ । एनएफआरएस प्रणालीअनुसार बैंकले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छुट्ट्याएर बाँकी रहेको नाफा नै वितरणयोग्य नाफा हो । बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८८ करोड छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन लङ्गलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने–घट्ने कुनै पनि निश्चित सङ्केत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्यूट्रल जोन ३७ दशमलव ६८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्य रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ३२४ देखि बजार अवस्था परिवर्तन भई महँगिएमा रू. ३४० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३१० मा टेवा पाउने देखिन्छ ।