महालक्ष्मी विकास बैंक: कम्पनी विश्लेषण (आइतवार, १ असार २०७६)
Jun 16, 2019
 
लगानी
कम्पनी विश्लेषण
गत आवको नाफाबाट बैंकले आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकले रू. ३८ करोड ७९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ३३ करोड ६९ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । बैंकको चुक्ता रू. २ अर्ब ८४ करोड छ । रिजर्भ कोषमा रू. १ अर्ब २८ करोड छुट्ट्याएको छ । चैत मसान्तसम्ममा बैंकले रू. ३० अर्ब ४९ करोड निक्षेप संकलन गरेको छ भने रू. २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. १८ दशमलव १८, तरलता अनुपात २८ दशमलव शून्य ३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४५ दशमलव २३ छ । हालसम्ममा बैंकले ९५ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन सानो टुप्पी भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५० दशमलव ७६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १९४ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १९८ मा प्रतिरोध र सस्तिएमा रू. १८८ मा टेवा पाउने देखिन्छ ।