लक्ष्मी बैंक : कम्पनी विश्लेषण (आइतवार, १ असार २०७६)
Jun 16, 2019
 
लगानी
कम्पनी विश्लेषण
लक्ष्मी बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सालसम्मका लागि २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । बैंकले जेठ २१ गते ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । २० लाखमध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघसंस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९२ करोड ५ लाख ९ हजार छ । यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले रू. १ अर्ब २ करोड ९६ लाख ३३ हजार खुद नाफा गरेको छ । यो नाफा गत आवको यसै अवधिमा रू. ८६ करोड ११ लाख ९७ हजार थियो । गत आवको तुलनामा चालू आवमा बैंकको नाफा वृद्धि भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा रू. ७० करोड ५५ लाख ३६ हजार छ । प्रतिशेयर आम्दानी भने रू. १५ दशमलव ३९ रहेको छ । बिहीवार भएको कारोबारमा शेयरमूल्य रू. २ सय १८ कायम भएको छ । सो दिन बैंकको २३ हजार ४४१ कित्ता शेयर खरीद विक्री भएको हो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन लङ्गलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य घट्ने–बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा बैंकको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सक्छन् । आरएसआई न्यूट्रल जोन ४३ दशमलव ६४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ६३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २१८ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २२५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. २०६ मा टेवा पाउने देखिन्छ ।