मुक्तिनाथ विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, २ असार २०७६)
Jun 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले २० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न जेठ २१ गते सेबोनमा निवेदन दिएको छ । बैंकले ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्रीप्रबन्धकमा भिबोर क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६ करोड छ । २० प्रतिशत हकप्रद शेयर निष्कासनपछि पूँजी रू. ३ अर्ब ६७ करोड पुग्नेछ । बैंकले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले बैंकको आधारभूत पक्ष औसतमा राम्रो रहेको देखाउँछ । गत आवको नाफाबाट शेयरधनीलाई १८ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरण गरेपछि बैंकको चुक्तापूँजी रू. ३ अर्ब ६ करोड पुगेको हो । बैंकले चालू आवको ९ महीनामा रू. ६० करोड २० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ४२ करोड ७५ लाख नाफा कमाएको थियो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव १३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव शून्य १ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्य र १४ दिने औसत मूल्यरेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ३७३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३७९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३६९ मा टेवा पाउने देखिन्छ ।