सामुदायिक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, २ असार २०७६)
Jun 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ७९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १ करोड ३७ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. १० करोड छ । रिजर्भ कोषमा रू. ४ करोड ८९ लाख छुट्याएको छ । चैत मसान्तसम्ममा कम्पनीले रू. ३३ करोड ८ लाख निक्षेप संकलन गरेको छ भने रू. ८९ करोड ७५ लाख कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव ९४, मूल्य आम्दानी अनुपात २७ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ९६ छ । हाल कम्पनीले ३४ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस आवको अन्त्यसम्म शाखा कार्यालय ४१ पु¥याउने कम्पनीको योजना छ । आइतवार कम्पनीको शेयरमूल्य रू. ५३१ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा १७ अंक कम हो । सो दिन कम्पनीको ५३० कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ३१ दशमलव ३७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव २६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ५३१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६१७ मा प्रतिरोध पाउने देखिन्छ ।