लक्ष्मी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, ३ असार २०७६)
Jun 18, 2019
 
लगानी
कम्पनी विश्लेषण
लक्ष्मी लघुवित्त कम्पनी लक्ष्मी बैंकको सहायक कम्पनीले हो । यस कम्पनीमा लक्ष्मी बैंकको ७० प्रतिशत शेयर स्वामित्व छ भने ३० प्रतिशत सर्वसाधारण शेयर स्वामित्व छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले रू. ७ करोड ९१ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ६ करोड ६६ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. २४ करोड २० लाख छ । शेयरधनीलाई २०७४/७५ को मुनाफाबाट २६ दशमलव ३२ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको छ । सोमवार कम्पनीको शेयरमूल्य रू. ६ सय ६३ कायम भएको छ । अघिल्लो दिनको तुलनामा १३ अंक बढी हो । सो दिन कम्पनीको ८ सय ५० कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई ओभरसोल्ड जोन २६ दशमलव ७४ विन्दुमा छ । यसले शेयर विक्री चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १९ दशमलव शून्य ४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ६६३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६९३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६५० मा टेवा पाउने देखिन्छ ।