अपर तामाकोशी हाइड्रोपावर कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, ३ असार २०७६)
Jun 18, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस वर्षको अन्त्यसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले आगामी ३ वर्षभित्र लगानीकर्तालाई लाभांश वितरण गर्ने योजना बनाएको छ । आयोजनाको निर्माण लागत ६९ अर्ब ५९ करोड १९ लाख १२ हजार पुग्ने अनुमान छ । यसअघि २०६५ चैत ७ गते सञ्चालक समितिले गरेको निर्णयअनुसार यस आयोजनाको निर्माण अवधिको ब्याजसहित जम्मा लागत अनुमान ४८ अर्ब ८६ करोड ४० लाख थियो । भूकम्पले गर्दा आयोजनाको अस्थायी संरचना र केही स्थानीय सिभिल संरचनामा समेत क्षति पुग्न गई नयाँ संरचनाको निर्माण गर्नुपर्ने भएकाले लागत बढ्ने अनुमान कम्पनीको छ । कम्पनीले गत कात्तिकमा आयोजना प्रभावित स्थानीय र मङ्सिरमा सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड पुगेको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५१ दशमलव २२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्यरेखासँग जोडिएको छ भने १४ दिने औसत मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. २६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २९४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २५९ मा टेवा पाउने देखिन्छ ।