समता लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, ४ असार २०७६)
Jun 19, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा वैशाख ३० गते निवेदन दिएको छ । कम्पनीले १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो । विक्रीप्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ । हाल कम्पनीले १० जिल्लामा २४ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा ६ ओटा शाखा कार्यालय थप गर्ने कम्पनीको योजना छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ६ दशमलव ६६ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । चैत मसान्तसम्म कम्पनीले रू. १ करोड ४८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३११ प्रतिशत बढी हो । सोही अवधिमा कम्पनीले रू. ३६ लाख ९ हजार नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले रू. ३५ लाख ६ हजार खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।
कम्पनीको ५६ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई ओभरसोल्ड जोन ३० दशमलव ८५ विन्दुमा छ । यसले शेयरविक्री चाप बढेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३७ दशमलव ९८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. १ हजार १५९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २२५ मा प्रतिरोध पाउने देखिन्छ ।