मेगा बैंक : कम्पनी विश्लेषण (बिहीवार, ५ असार २०७६)
Jun 20, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले सहायक कम्पनीको रूपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड सञ्चालनमा ल्याइसकेको छ भने धितोपत्र कारोबारका लागि सहायक कम्पनी पनि स्थापना गर्ने तयारी गरेको छ । धितोपत्र बजारको विकास र विस्तारका लागि वाणिज्य बैंकहरूलाई पनि सहायक कम्पनीमार्फत शेयर कारोबार गर्न ब्रोकर लाइसेन्स दिने सरकारको योजनामा यस बैंकले पनि कार्य अघि बढाएको छ । ब्रोकर लाइसेन्सका लागि नेपाल राष्ट्र बैंकबाट प्रबन्धपत्र नियमावलीको संशोधित बुँदालाई बैंकले स्वीकृत गराइसकेको छ । वैशाख २ गतेदेखि मेगा बैंकको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लिमिटेडबाट हुँदै आएको छ । बुधवार भएको शेयर कारोबारमा बैंकको अन्तिम शेयरमूल्य रू. २०० कायम भएको छ । यस दिन बैंकको शेयरमूल्य स्थिर छ । बुधवार १३ हजार ३२५ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने कम छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ६० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । बुधवारको शेयरमूल्य रू. २०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २०७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १९७ मा टेवा पाउने देखिन्छ ।