एनआईसी एशिया बैंक : कम्पनी विश्लेषण (बिहीवार, ५ असार २०७६)
Jun 20, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणमा रू. १ अर्ब ५ करोड १२ लाख ३ हजार वितरणयोग्य नाफा रहेको उल्लेख छ । बैंकको शेयरमूल्य पछिल्लो चैत १७ गतेदेखि नै उकालो लाग्न थालेको देखिन्छ । बुधवार नेप्सेमा सर्वाधिक कारोबार भएको यस बैंकको अन्तिम शेयरमूल्य रू. ४६६ कायम भएको छ । यस दिन बैंकको शेयर अधिकतम रू. ४७० सम्म कारोबार भएको छ । यस बैंकले सहायक कम्पनीमार्फत धितोपत्रको कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट बाटो खोलिसकेको छ । राष्ट्र बैंकले साधारणसभा मार्फत पारित गरेको प्रबन्धपत्र विनियमावलीमा समावेश ब्रोकर कारोबार गर्न सक्ने प्रस्तावलाई स्वीकृति दिएको हो । गत फागुनमा १० प्रतिशत ब्याजदरको १० वर्षे ऋणपत्र जारी गरिसकेको बैंकले फेरि जेठ ६ गते ७ वर्षे अवधिको १० दशमलव २५ प्रतिशत ब्याजदरमा ४४ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणको अन्तिम ३ दिनको मैनबत्तीलाई हेर्दा युनिक थ्री रिभर बटम बुलिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ६१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा २६ दिने मूल्यरेखाभन्दा तल र १४ दिने मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ४६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४८५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४५१ मा टेवा पाउने देखिन्छ ।